वर्षा लागेसँगै बुटवल चुरे पहिरोको पिरलोः आकाश गड्किँदा मन तर्सिन्छ स्थानीयको
बुटवल : बुटवलमा मनसुन सक्रिय भएसँगै वर्षा लागेको भान भइरहेछ।
तर बुटवलको ज्योतिनगर र लक्ष्मीनगरका स्थानीयहरूमा भने मनसुन सक्रिय भएसँगै मनमा चैन छैन। चिन्ता, डर र भय छ। कारण, बस्तीमाथिको चुरे पहिरो।
दुई वर्षअघि २०७८ साल भदौ १३ र असोज ४ गते बुटवलबाट पूर्वीउत्तरको चुरेबाट झरेको पहिरोले ज्योतिनगर र लक्ष्मीनगरका डेढ दर्जन घरहरू पुरिएका थिए। ५० भन्दा बढी घरमा क्षति पुगेको थियो।
मानविय क्षति नभए पनि करोडौंको आर्थिक क्षति चुरे पहिरोका कारण स्थानीयले बेहोर्नुपरेको थियो। कतिपय विस्थापित पनि भएका थिए।
अहिले पनि चुरेको पहिरो खस्ने खतरा उत्तिकै छ। पहिरो झर्न ठिक्क परेको देखिएको चुरे कतिबेला आगँनमै आइपुग्छ पत्तो छैन। डरैडरमा छन् स्थानीय। आकाश गड्किनसाथ उनीहरूको मन डराउन थाल्छ।
‘गर्मी रहन्जुल केही थिएन। तर हिजोआज बाट पानी पर्न थालेको छ। मनमा त्रास र डर छ। कतिबेला पहिरो आउँछ केही पत्तो छैन। डरैडरमा रातको निद्रा हराउन थालेको छ’, बुटवल-३ ज्योतिनगर चेतना पासाङ टोलकी रेउमाया गुरुङले भनिन्।
गुरुङ यहाँ बस्न लागेको ५० वर्ष भयो। २०७८ साल भदौ १४ गतेको पहिरोले उनको घरमा क्षति पुर्याएको थियो। त्यो दिन कहिल्यै बिर्सिन नसक्ने ७० वर्षीया गुरुङ भन्छिन्, ‘त्यो बेला कसरी बाँचियो थाहा छैन। भएभरको सबै पहिरोसँगै झरेको लेदोले लग्यो।'
ज्योतिनगरकी उजेली विकलाई पनि वर्षा भन्ने बित्तिकै डर लाग्छ। घरमाथिको चुरे कतिबेला झर्छ र बगाउँछ मात्र उनलाई चिन्ता छ। दुई वर्षअघि पहिरोले उनको घरमा पनि क्षति पुर्याएको थियो।
४ असोज ०७८ बिहानै घरमा लेदोसहित चुरेबाट आएको पहिरोले उजेलीका घरका दुई वटा कोठा भत्काएको थियो। त्यसअघि भदौ १३ गते आएको पहिरोले पनि उनको घरमा क्षति पुगेको थियो।
‘अहिले पनि यो पहिरो आउँछ। के हुन्छ थाहा छैन। पानी पर्न थालेपछि रातभर जागाराम बस्नुको विकल्प छैन’, ६५ वर्षीया उनले भनिन्।
उजेलीलाई वडा कार्यालयमार्फत बुटवल उपमहानगरपालिकाले राहतस्वरूप २५ हजार रूपैयाँ, दुई बण्डल जस्तापाता र चार वटा फलामे पाइप दिएको थियो। ‘त्यही राहतले जसोतसो फेरि टाउको ओत लाग्ने ठाउँ त बनेको छ।' तर यसको दीर्घकालीन समाधान नहुँदा उनलाई त्यही विपत्ति दोहोरिन्छ कि भन्ने पीर छ।
ज्योतिनगरकै ६४ वर्षीय शिवसति श्रेष्ठको मन पनि चुरेजस्तै छियाछिया बनेको छ। १० वर्ष बुटवल बसेर कमाएको रकमले पक्की घर बनाए पनि दुई वर्षअघि आएको पहिरोले क्षति पुर्यायो। अहिले उनलाई त्यही घरको मर्मत गर्दा लागेको ऋण तिर्न हम्मेहम्मे परेको छ। 'अहिले घर ममर्त गरेर बसे पनि जोखिम उस्तै छ। आकाशमा कालो बादल देख्यो कि डर हुन्छ’, उनले भनिन्।
रेउमाया, उजेली र शिवसतिजस्तै ज्योतिनगर र लक्ष्मीनगरका स्थानीय दुई वर्षदेखि चुरे पहिरोबाट त्रासमा दिनरात बिताइरहेका छन्। सिंगो बुटवल नै जोखिममा पार्न सक्ने चुरे पहिरोले अझै कति वर्ष सम्म पिरोल्छ टुंगो छैन।
त्यसो त बुटवल-३ र ४ मा पर्ने ज्योतिनगर र लक्ष्मीनगर बस्तीमा दुई वर्षअघि मात्र चुरे पहिरो आएको होइन। २०३८, २०५५ र २०७८ गरी ३ पटकसम्म ज्योतिनगर र लक्ष्मीनगर क्षेत्र पहिरोले नराम्रोसँग प्रभाावित बनेको इतिहास छ।
२०५५ भदौ २० गते पहिरोका कारण त्यस क्षेत्रबाट ५७ घर विस्थापित भएका थिए।
त्यसपछि विस्थापित भएकाहरूलाई २०५७ सालमा तामनगरमा जग्गा दिएर स्थानान्तरण गरियो। तर ज्योनिगरको जग्गाको लगत कट्टा भएन। पहिरो क्षेत्र हरियो बन्दै गएपछि तामनगर गएकाहरू पनि फर्केर पुरानै ठाउँमा आए।
भूगोलविद् डा.भोजराज कडरियाले चुरे पहाड आफैँमा कमजोर भू-बनोटको रहेको र चुरे क्षेत्रमा भएको अनियन्त्रित फँडानीले बुटवलमा पहिरो झर्न थालेको बताए। चुरे कान्छो पहाड भएकाले त्यसै पनि कमजोर हुने गरेको उनले बताए।
‘२०५५ सालमा पहिरो गएको केही वर्षमा चुरे क्षेत्रमा बाटो बनाउने, खानेपानीका नाममा अन्धाधुन्ध डोजरको समेत प्रयोग भयो। त्यसले माटो खल्बल्यायो। परिणामतः अहिले यो अवस्था आयो’, उनले भने।
दीर्घकालीन समधानको खोजी नै भएन
सरकारबाट पहिरो नियन्त्रणका लागि केही प्रयास गरे पनि दीर्घकालीन समाधान नहुँदासम्म ज्योतिनगर, लक्ष्मीनगरका स्थानीयले अब बर्सेनि पहिरोको त्रास भोग्नुको विकल्प छैन।
पहिरो नियन्त्रणका लागि केही प्रयास भए पनि प्रभावकारी भएका छैनन्। २ वर्षको अवधिमा पहिरो नियन्त्रणका लागि राष्ट्रपति चुरे तराई-मधेस संरक्षण कार्यक्रम कार्यान्वयन इकाइ कार्यालय र बुटवल उपमहानगरपालिकामार्फत पाँच करोड रुपैयाँ खर्चसमेत गरिएको छ।
बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले चुरे पहिरो नियन्त्रणका लागि प्रदेश र संघ सरकारसँग समन्वय गरिरहेको बताए। उनले आफ्नै पहलमा संघ सरकारबाट ४ करोड ५० लाख रुपैया बजेटबाट चेकड्याम, रिटर्निङ वाल, बक्स कल्भर्टलगायत कामहरू अहिले भइरहेको जानकारी दिए।
त्यस्तै सोही स्थानमा विपद् प्राधिकरणमार्फत ४५ लाख रुपैयाँ पहिरो नियन्त्रण लागि काम भइरहेको उनको भनाइ छ।
बुटवल उपमहानगरपालिका वडा नंं ३ का अध्यक्ष विष्णु ढकालले अघिल्लो वर्ष चुरेमा छरिएका पानीका मुहान एकत्रित गरी एउटै खोल्सीबाट बग्ने गराएकाले काम भइरहेको बताए।
अहिले विभिन्न ठाउँमा चेकड्याम र खोल्सी बनाइएको भन्दै अब पानी बस्तीतर्फ आउन रोकिएको उनले दाबी गरे। ‘यो सबै हामीले गरेको अल्पकालीन समाधान हो। स्थायी समाधान हाम्रो एक्लो प्रयासले सम्भव नै हुँदैन। यसका लागि प्रदेश सरकार र संघ सरकारको सहयोग चाहिन्छ’, उनले भने।
भूगर्भविद् डा. रञ्जनकुमार दाहाल, सिँचाइ डिभिजन कार्यालयका प्रकाश दास उलकलगायत सहभागी टोलीले २ वर्षअघि नै ज्योतिनगरमाथिको श्रवनडाँडा नै बगिरहेकाले ग्याबिन वाल र ग्याबिन चेक ड्यामले पहिरो नियन्त्रण हुन नसक्ने निष्कर्ष दिएको छ।
ज्योतिनगर र लक्ष्मीनगरमाथिको श्रवनडाँडामा जमिन ८० मिटर तलसम्म धस्सिएको छ।
असार ८, २०८० शुक्रबार १२:५१:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।