स्वास्थ्यकर्मीलाई विपत्तिका बेलाको आकस्मिक तयारीमा लाग्न स्वास्थ्यमन्त्रीको आग्रह
काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्यकर्मीलाई विपत्तिका बेलाको आकस्मिक तयारीमा लाग्न आग्रह गरेका छन्।
आकस्मिक चिकित्सकीय समूहको कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले आकस्मिक तयारीका लागि सधैं चनाखो हुनुपर्ने बताए।
‘आकस्मिक तयारीका लागि हामी सधैं चनाखो हुनुपर्छ। यो कुनै एक ठाउँमा मात्रै हुने कुरा हैन तसर्थ मुलुकको सबै क्षेत्रलाई ध्यानमा दिएर विपत्तिको तयारीमा लाग्न आग्रह गर्दछु,’ मन्त्री बस्नेतले भने।
उनले संविधान प्रदत्त स्वास्थ्यको अधिकारलाई सुनिश्चित गर्न लाग्नुपर्नेमा ध्यान दिन स्वास्थ्यकर्मीलाई आग्रह गरे।
कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठन नेपाल प्रमुख डाक्टर राजेश सम्भाजी राव पाण्डवले इएमटी देश र जनतालाई विपत्ति परेको समयमा तुरुन्तै प्रभावकारी सेवा प्रदान गर्नका लागि बनेको एउटा समूह भएको बताए। यो समूह समयमै समन्वय गरेर आपत्कालीन अवस्थामा ज्यान जोगाउनका लागि क्रियाशील हुनुपर्नेमा उनले जोड दिए।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले देशभर २५ वटा अस्पताल ‘हब स्याटेलाइट’ आकस्मिक सेवा प्रदान गर्नसक्ने अवस्थामा रहेको बताए।
असार ८, २०८० शुक्रबार ११:४८:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।