गोरखामा जिप दुर्घटनामा मृत्यु हुनेहरूको पहिचान खुल्यो

गोरखामा जिप दुर्घटनामा मृत्यु हुनेहरूको पहिचान खुल्यो

गोरखाको सहिद लखन गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गएका पाँचै जनाको पहिचान खुलेको छ। मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन्।

दुर्घटनामा परी सहिद लखन गाउँपालिका–५ का १९ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा र १७ वर्षीया नविना थापा तथा सहिद लखन–४ का ६४ वर्षीय थनबहादुर थापाको मृत्यु भएको घटनास्थलमा रहेका  गोरखाका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए। 

उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन्। उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको डीएसपी लामिछानेले बताए। उनीहरूलाई थप उपचारका लागि चितवनको भरतपुर लगिएको छ। अन्य घाइतेको आँबुखैरेनीमा उपचार भइरहेको छ। 

सहिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो। घटनालगत्तै डीएसपी लामिछानेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा गएको थियो। जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको बताइएको छ। 

असार ८, २०८० शुक्रबार ०९:२२:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।