वेस्ट इन्डिजसँग नेपाल १०१ रनले पराजित, सुपर सिक्सको सम्भावना भने अझै बाँकी

वेस्ट इन्डिजसँग नेपाल १०१ रनले पराजित, सुपर सिक्सको सम्भावना भने अझै बाँकी

काठमाडौं : आईसीसी विश्वकप छनोटको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिजसँग १०१ रनले पराजित भएको छ।

जिम्बाबेको हरारे स्पोर्टस एकेडेमीमा टस हारेर पहिला बलिङ गरेको नेपालले ३ सय ४० रनको लक्ष्य पाएको थियाे।

जवाफमा ब्याटिङमा उत्रिएको नेपालले ५०औं ओभरको चौथो बलमा अलआउट हुँदै २ सय ३८ रन मात्रै बनायो।

पहिलो इनिङमा बलिङमा उत्कृष्ट सुरुआत गरको नेपालले वेस्ट इन्डिजका कप्तान शाही होप र निकोलस पुरनबीचको शाझेदारी तोड्न नसक्दा विशाल योगफल पाएको थियाे।

होपले पुरनसँग २ सय १२ रनको साझेदारी गर्दै सर्वाधिक १ सय ३२ रनको योगदान गरेर पभेलियन फर्किए।

उनले ललित राजवंशीको बलमा भीम सार्कीबाट क्याच आउट हुनुअघि १२९ बल खेल्दै १० चौका र तीन छक्का प्रहार गरे।

पुरन ९४ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रन जोडेर दीपेन्द्र सिंह ऐरीको बलमा क्याच आउट भए।

ओपनर ब्रान्डन किङ ४२ बलमा समान २ चौका र छक्कासहित ३२ रनमा आउट हुँदा, रोभमन पोवेल २९ रनमा आउट भए। जासोन होलर १६ रनमा अविजित रहे।

नेपालको बलिङमा ललित राजवंशीले १० ओभरमा ५२ रन खर्चिएर सर्वाधिक ३ विकेट लिए। करण केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एक विकेट लिए।

नेपालको ब्याटिङमा आरिफ शेखले सर्वाधिक ६३ रन जोडे। गुलशन झाले ४२ रन योगदान गर्दा कप्तान रोहित पौडेल ३० रन, आसिफ शेख २८ रन, दीपेन्द्रसिंह ऐरी २३ बनाएर पभेलियन फर्कँदा करण केसी २८ रनमा अविजित रहे।

वेस्ट इन्डिजका जासन होलरले सर्वाधिक ३ विकेट लिए भने, अलजारी जोसेफ, किमो पल र एकिल होसियनले दुई-दुई विकेट लिए। केल मायर्सले १ विकेट लिए।

पहिलो खेलमा घरेलु टिम जिम्बावेसँग ८ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो।

बिहीबारकाे खेलमा नेपालले वेस्ट इन्डिजलाई पराजित गरेको भए नेपालको सुपर सिक्स सम्भावना बलियो हुने थियो।

अब नेपालले सुपर सिक्समा स्थान बनाउन अन्तिम खेलमा शनिबार नेदरल्यान्ड्सलाई हराउनै पर्ने दबाब छ।

असार ७, २०८० बिहीबार २१:४२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।