उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता गर्न रोक्यो सर्वोच्चले

उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेको मुद्दा फिर्ता गर्न रोक्यो सर्वोच्चले

काठमाडौँ : उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गरेको मुद्दा खेपिरहेकाहरूको मुद्दा फिर्ता लिने सरकारको निर्णय सर्वोच्च अदालतले रोकेको छ। अदालतले बिहीबार अन्तरिम आदेशमार्फत सो निर्णय रोक्न आदेश दिएको हो।

आफूमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक चलाउने बुधवार सर्वोच्च अदालतमा गएका थिए।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासबाट आएको आदेशमा मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्न भनिएको छ।

इजलासले सो आदेशसँगै मुद्दा फिर्ता लिनुको कारण पेस गर्न समेत सरकारको नाममा आदेश जारी गरेको छ।

अदालतको आदेश चित्त नबुझे सरकार अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालत जान सक्नेछ। तर सो आदेश कायम भएसम्मका लागि मुद्दा फिर्ताको सरकारी निर्णय भने निष्क्रिय हुने भएको छ।

असार ७, २०८० बिहीबार १६:२९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।