मोहन निरौलाको हिजोका कुरा : हिन्दीमा पढाएपछि मास्टर कुटेँ, फिल्म खेल्दा राजा भएजस्ताे हुन्थ्यो

मोहन निरौलाको हिजोका कुरा : हिन्दीमा पढाएपछि मास्टर कुटेँ, फिल्म खेल्दा राजा भएजस्ताे हुन्थ्यो

वि.सं. २०१५ सालमा तेह्रथुमको डाँडागाउँ गाविस पाकतिन वडा नम्बर ३ मा जन्मिएका लेखक तथा निर्देशक हुन् मोहन निरौला।

नेपालमा भएका पञ्चायतकालदेखि गणतन्त्रजस्ता ठुल्ठुला राजनितिक परिवर्तन देखेका उनले। बुबा सरकारी जागिरे भएपछि बुबाको सरुवा भएको जिल्लामा समेत कहिले पैदल त कहिले घोडा सवार गरेर पुगेका छन्। नेपालको त्यो समयको अवस्थाबारे मज्जाले नियालेका मोहन नेपाली चलचित्र तथा टेलिचलचित्रमा आफूलाई स्थापित गराएका छन्। 

२०४८ सालमा टेलिफिल्म‘भावना’ लेखेका थिए। त्यसपछि उनका लेखनमा टेलिफिल्म ‘देवी,चेतना,प्रतिज्ञा,थोरै भए पुगिसरी,जीवन चक्र,आमालगायत दर्जनौँ लेखेका छन्। उनले टेलिफिल्मका अलवा फिल्ममा लेखन,अभिनय र निर्माण र निर्देशनसमेत गरेका छन्। 

उनले २०४० सालतिर हेम लामाद्वारा निर्देशित फिल्म ‘आदर्शनारी’बाट ठूलो पर्दामा अभिनययात्रा थालेका थिए। जुन फिल्ममा अहिलेका अभिनेता तथा पाइलट विजय लामा अभिनेता थिए। 

उनको यात्रा पढाइभन्दा पनि नाटक,फिल्म,टेलिफिल्मतर्फ रह्यो। नाटकमा अभिनय गर्दा गर्दै ०४१ सालमा नेपाल टेलिभिजन स्थापना कालदेखि अहिलेसम्म पनि अभिनय,लेखन र निर्देशनमा उत्तिकै सक्रिय रहेका छन्। चलचित्र कलाकार संघका अध्यक्षसमेत हुन्।

हरेक नेपाली दर्शकलाई अभिनय,लेखन तथा निर्देशनबाट मनोरञ्जन दिलाएका निरौलाको व्यस्तता अहिले पनि घटेको छैन। विगतदेखि अहिलेसम्म आफ्नो जीवनकाललाई उनी यसरी सम्झन्छन्ः 

बुवाको सरुवा जता-जता उतै-उतै बाल्यकाल
म तेह्रथुममा जन्मिएको हुँ। बाल्यकालको त्यति सम्झना छैन। मैले थाहा पाएअनुसार ०१९ सालमा बुबाले सेक्सन अफिसरको जाँच दिनुभएको थियो पास हुनुभएछ। बुबा पास भएपछि जागिरमा जहाँ जहाँ सरुवा हुन्थ्यो, हामीलाई त्यहाँ त्यहाँ लैजानुहुन्थ्यो। यीमध्ये मलाई अलिकति पोखराको सम्झना छ। यहाँ बुबाको सरुवा हुँदा म ५ वर्षको थिए। यहाँ केही हाँसीखेली गर्दागर्दै फेरि बुबाको सरुवा भोजपुर भयो। 

भोजपुरमा चाहिँ बडाहाकिम कार्यालयमा सेक्सन अफिसरमा बढुवा भएर बुबाको सरुवा भयो। यहाँ आएपछि मैले पाँच कक्षासम्म पढेँ। पोखरामा चाहिँ पढेँ कि पढिनँ त्यो याद भएन। भोजपुरमा चाहिँ मैले ५ कक्षा पढेँ। यहाँ बडाहाकिम युगनाथ शर्मा भन्ने हुनुहुन्थ्यो। बडाहाकिम ३४/३५ ठाउँमा थिए।

बडा हाकिम त्यो क्षेत्रको प्रशासक थिए। सीडीयोले अहिले जिल्ला हेर्छ नि,त्यस्तै गरी बडाहाकिमले त्यो क्षेत्र हेर्थ्यो। पछि सरकारले भने ७५ जिल्ला ७५ जना नै सीडीयो बनायो। अनि १४ अञ्चल बनायो।

१४ अञ्चल भएपछि १४ वटै अञ्चालाधीश बनायो। म भोजपुरमा पढ्दा पढ्दै बुबाको फेरि काठमाडौंमा सरुवा भयो। यो लगभग २०२२ सालको कुरो हुनुपर्छ। त्यो बेला विद्युत् विभाग भन्ने थियो अहिले विद्युत प्राधिकरण भन्छौँ हामी। त्यो समयमा विद्युत विभाग बन्ने थियो। यो सरकारको नेतृत्वमा रहेको थियो। बुबाको यहाँ शाखा अधिकृतमा सरुवा भयो।

काठमाडौँ आएपछि मेरो पढाइ पद्योदय हाइ स्कुलमा सुरु भयो। मेरो दिदी र म एउटै क्लासमा पढ्थ्यौँ सायद। मेरो दिदी म भन्दा २ वर्ष जेठी भए पनि हाम्रो पढाइृ एउटै थियो। म पद्योदय हाइ स्कुल पढेँ भने दिदी पद्यकन्या स्कुलमा पढ्नुहुन्थ्यो। यो समयमा बोर्डिङ स्कुल १,२ वटा जति थिए जस्तो लाग्छ मलाई। जति खुले, त्यसपछि खुलेका हुन्।

यहाँका धनाढ्यहरूले अर्थात् सौखिन मान्छेहरूले छोराछोरी पढाउन काठमाडौंका स्कुल रोज्दैन थिए। उनीहरूले कि दार्जिलिङ पठाउँथे,कि काश्मिर पढ्न पठाउँथे। यहाँ जति जेन्युन प्रोडक्टहरू छन् ती सबै पद्योदय हाई स्कुलमा छन्।

मसँगै पढेका साथीहरूमा ४ जना त जर्नेल नै भए। एक जना आरपी पन्त त हामीसँगै कलाकारितामा हुनुहुन्छ। दिनेश सत्याल कवि,अनि दीपक खरेल गायक भए। मैले उहाँको नाम किन लिए भने यो समयका विद्यार्थीहरू राम्रा थिए। तर, मचाहिँ पढ्ने खालको विद्यार्थी थिइनँ। अरू मेहनत गरेर पढ्थेँ भने म अलिक अल्छी पाराको थिए। यो बेला मसँग मिल्ने साथी भनेको आरपी पन्त थिए। अहिले कलाकार र ट्राभल व्यवसायी पनि हुनुहुन्छ।

यहाँ म पढ्दा पढ्दै बुवाको सरुवा पाँचथरमा सीडीयोको रूपमा भयो। २०२८ सालमा बुबाको सरुवा पाँचथरमा भएपछि सपरिवार उतै गयौँ। त्यति बेला म १० कक्षामा पढ्दै थिएँ। बुबाको सरुवा पाँचथर भएपछि मैले उतैबाट २०२९ सालमा एसएलसी दिए। मलाई अहिले पनि राम्ररी याद छ। 

श्री फिदिम हाई स्कुलबाट मैले एसएलसी दिएपछि बुबाको सरुवा ओखलढुंगामा भयो। अनि हामी बुबासँगै ओखलढुंगामा आयौँ। यता आएपछि म एपएलसी पास भएँ, दिदी फेल हुनुभो। अनि मलाई बुबाले अब तैँले साइन्स पढ्नुपर्छ भन्नुभयो। रुम्जाटारकै एक जना मोहन बहादुर घले इन्स्पेक्टर हुनुहुन्थ्यो यहीँ सिफलमा, त्यहाँ जाने र पढ्ने भनेर बुबाले मलाई फेरि काठमाडौं पठाउनुभयो। पहिलो पटक पिलाटस पोर्टर प्लेनमा चढेर काठमाडौं आए। 

काठमाडौं आएपछि साइन्स पढ्न मोहनकृष्ण घलेकहाँ बसियो। अनि त्यस समयमा सीडीयोको छोरो भन्थे।काठमाडौंमा ओखलढुंगाका मान्छेहरू थुप्रै थिए। चिनजान राम्रै थियो। त्यसबेला चन्द्र बहादुर कार्की मेडिकल अस्पतालका अफिसर हुनुहुन्थ्यो। उहाँकी बैनी (सुशिला)सँग मेरो भेट भयो। मैले सुशीला दिदी भन्थेँ। उहाँले कहाँ काठमाडौंमा पढ्ने, हिँड् जनकपुरमा पढ्ने भन्नुभयो। दिदीले जाऊँ भनेपछि उहाँकै पछि लागेर जनकपुर पुगेँ। त्यसपछि विराटनगरमा गएँ र त्यसपछि कमर्स पढ्न थालेँ। यहाँ पुगेपछि थुप्रैसँग मेरो चिनजान बढ्यो। पढाइ पनि मेरो ठिकठिकै भयो। 

जनकपुरमा मास्टर कुटे 
जनकपुर पुगेपछि त्यहीँको माहोलमा रमाउन थाले। त्यहाँ रामस्वरुप रामसागर भन्ने कलेज थियो। अहिले छ। त्यहाँ म साइन्समा भर्ना भएँ। मैले भर्ना गर्दा त्यहाँ पहिलो ब्याज रहेछ। म बायोलोजी विषयमा भर्ना भएँ। त्यहाँ नेपाली भाषा बुझ्ने र पढ्ने पाँच जना मात्रै विद्यार्थी थियौँ। एक जना लभ मैनाली हुनुहुन्थ्यो, अहिले उहाँ वरिष्ठ अधिवक्ता हुनुहुन्छ। अर्का विष्णु अधिकारी हुनुहुन्थ्यो, उहाँ पनि अहिले कलेज चलाएर बस्नुभएको छ। 

त्यहाँ चन्द्र बहादुर कार्कीको भाइ हुनुहुन्थ्यो, भुपेन्द्र कार्की अनि उहाँको साथी नारायण सुवेदी। उहाँहरू त्यो समयमा त्यहाँको प्रभावशाली मान्छे। दुई तीन दिन उहाँहरूकै घरमा बसेँ। त्यसपछि बच्चु कोइरालाको घरमा बसेँ। उहाँहरू अहिले यही काठमाडौंमा हुनुहुन्छ। उहाँको घरमा भाडामा बसेँ। रुम भाडा त्यो समयमा १५,२० रुपैयाँ थियो। अनि होटलमा खाना खान्थेँ। महिनाभरि खाना खाएको ९० रुपैयाँ पर्थ्यो। मैले यो होटलमा खाना खाएको कहिले पैसा तिर्थेँ कहिले तिर्दिनँ थिएँ।

किनभने भुपेन्द्रहरू प्रभावशाली मान्छेहरू फलनाको भाइ भनेपछि नतिर्दा नि फरक पर्दैन थियो। उहाँहरूको नामबाटै फ्रिमा सिनेमा हेरिन्थ्यो, फ्रिमै गाडी चढिन्थ्यो। भुपेन्द्रको भाइ भनेपछि कसैले बोल्ने आँटै गर्दैन थिए। 

त्यहाँ बसेर पढ्दै गइयो। त्यहाँ हिन्दीमा पढाउने गर्थ्यौँ। हामीले नेपालीमा पढाउनुपर्छ भनेर आवाज उठाउन थाल्यौँ। त्यहाँ गणेश लामा भन्ने क्याम्पस चिफ हुनुहुन्थ्यो, हाम्रो फ्याकल्टीको। अर्का ठाकुर भन्ने क्यामेस्ट्रीको प्राध्यापक टिचर थिए, अनि अर्का भानुभक्त पोखरेल साहित्यकार पनि हुनुहुन्थ्यो।

मैले उमेर बढाएर एसएलएसी दिएको थिएँ। १६ वर्ष नपुगी एसएलसी दिन पाइँदैन थियो। लक्का जवान मान्छे थिएँ। अलि अलि चकचके खालको,यति लामो कपाल पाल्थेँ। त्यो फोटो अहिले पनि छ। अनि मैले सबै शिक्षकलाई सर हामी हिन्दी बुझ्दैनौँ नेपालीमा पढाउनुहोस् भन्यौँ।

टिचरले तिमीहरू नेपाली बुझ्ने ५ जना छौ, ६० जनाचाहिँ तराई मूलका छन्। नेपालीमा पढाएँ भने उनीहरूले बुझ्दैनन् भने। अहिले मलाई लाग्छ, राम्रै जवाफ दिएका थिए। त्यो उमेरमा जोस जाँगर भाको टिचरसँग मेरो राम्रै भनाभन हुँदै थियो। मैले ब्याङ्गै चप्पलले हान्दिएँ। तहल्कै मच्चियो। हानहान परेपछि मलाई कलेज निकाला गर्नेमा पुगिहाले। धन्न रेस्टिकेट भइनँ।

योचाहिँ पहिलो सेमेस्टरको जाँच हुनुभन्दा अघिको हो। वायोलोजी र फिजिक्स थियो। इन्जिनियर हुनेहरू फिजिक्सतिर पढ्थे। र डाक्टर हुनेहरू बायोलोजीमा पढ्थे। आइएस्सीको पहिलो सेमेस्टरको जाँचमा केमेस्ट्रीको थ्यौरी र प्राक्टिकल दुवैमा जिरो आयो। ठिकै छ भनेर फेरि सेकेन्ड सेमिस्टर पनि पढेँ। यसमा पनि दुवैमा जिरो आयो। दुवैमा जिरो आएपछि अब हुन्न यसरी भनेर फेरि ओखलढुंगा आएँ। 

आफैँ चढेको प्लेन उड्दा उड्दै हराएपछि...
पिलाटस पोर्टर, ‘ट्वीनअटर’ प्लेनचाहिँ कहिलेकाहीँ आकाशमै हराउँथ्यो। एक दिन म आफैँ चढेको प्लेन हावामा हरायो। मलाई लाग्छ, त्यो प्लेनका पाइलट अमेरिकन नागरिकले चलाएका थिए। ओखलढुंगाबाट जनकपुर उडेका थियौँ। उडेपछि हावा बेस्सरी चलेको थियो। त्यो हावाले उडाएर प्लेन कता लग्यो लग्यो।

प्लेनमा ४, ५ जना भएकाले हामी आत्तियौँ। मरिने भो भनेर अरू कराउन थाले। जति कराए पनि हुनेवाला केही थिएन त्यहाँ। हामी चढेको प्लेनका पाइलट निकै अनुभवी रहेका थिए। उनले कसो-कसो गरेर जनकपुर पुर्याएर ल्याण्ड गरेँ। म १५,१६ वर्षको लक्का जवान भएकाले होला मलाई अब मरिन्छ भन्ने फिल कसै गरी आएन। 

खाजामा १० पैसा
बुवाले मलाई स्कुल जाँदा खाजाका लागि भनेर १० पैसा दिनुहुन्थ्यो। यो १० पैसाले मनग्यै खाजा खान पुग्थ्यो। यसले हामी जेरी,स्वारी यस्तै यस्तै खानेकुराहरू किनेर खान्थ्यौँ। मलाई याद भएअनुसार १,२ पैसामा राम्रै खाने कुरा आउँथ्यो। यो समयमा मेरो बुबाको तलब नै मासिक एक सय ८० रुपैयाँ थियो। तीन वटा कोठा भाडामा लिनुभएको थियो,त्यही पैसाले हामी तीन जना छोराछोरीलाई पाल्नुभएको थियो। 

बुवाको सरुवा हुँदा कहिले घोडामा त कहिले पैदल
त्यो बेलामा अधिकृतको सरुवा हुँदा एक पटकको आउजाउ खर्च सरकारले नै बेहोर्थ्यो। अहिले के छ थाहा छैन, म १० मा पढ्दै गर्दा बुबाको सरुवा पाँचथर भएपछि हामी प्लेनमा विराटनगर गयौँ।

काठमाडौं आउजाउ गर्ने बाइरोडको बाटो मात्रै थियो। यी राजमार्गहरू पूरै बनिसकेको थिएन। अनि प्लेनमा नै हामी विराटनगर गयौँ। मलाई लाग्छ त्यो समयमा प्लेन भाडा २०, ३० रुपैयाँ थियो। मैले २०३८ सालमा क्याम्पसचाहिँ ३,४ सय रुपैयाँ थियो। गाडी भाडा त काठमाडौं विराटनगर ५६ रुपैयाँ थियो।

म यस बेला मोरङ यातायात व्यवसायी संघको सचिव पनि थिएँ। त्यतिबेला दिउँसोको ५६ र नाइटको ५९ रुपैयाँ थियो। २०४६ सालको आन्दोलनपछि उदार अर्थतन्त्रको नारा दिएपछि ह्वात्तै महँगी बढेको थियो। 

हामी काठमाडौं,पोखरा जाँदा प्लेनमा नै जान्थ्यौँ। भोजपुर जाँदा पनि प्लेनमा विराटनगर गएर हिँडेरै पाँचथर जान्थ्यौँ। पैदलै हिँडेर धरानमा बास बस्यौँ अनि बिहानै उठेर पाँचथर गयौँ। पुगेको थियौँ। पहिला अहिलेको जस्तो सवारी साधन थिएन।

हिँडेर जाँदा केहीको पनि डर हुन्न थियो। मलाई अहिले पनि याद छ, पाँचथर जाँदा हामी तमोर नदीको तिरैतिर हिँड्दै बास बस्दै दुई दिनमा पुगेका थियौँ। पहिलो अहिलेको जस्तो गेष्ट हाउस भन्ने हुँदैन थियो। तमोर नदीको किनारमा पाटी थिए, त्यहाँ बास बसेका थियौँ।

पाँचथरमा पिडियो (पञ्चायत डेभ्लोमेन्ट अफिसर) हुँदा हुँदै त्यहीँ सीडियो हुनुभयो बुबा। यहाँ केही महिनापछि नै बुबाको फेरि सरुवा ओखलढुंगा भयो।

पाँचथर जाँदा हामी धरानतिरबाट गएका थियौँ भने ओखलढुंगा आउँदा इलामसम्म आयौँ। यहाँबाट गाडी झापासम्म चल्थ्यो। यस बेला बुबालाई यातायातको साधन नभएको ठाउँमा घोडा दिएको थियो।

प्रायः सबै सीडीयो कार्यालयमा घोडा हुन्थे। त्यही घोडा चढेर हामी इलामसम्म घोडामा आयौँ। अनि गाडी चढेर हामी झापा हुँदै उदयपुर हुँदै ओखलढुंगातर्फ लाग्यौँ। अहिलेजस्ता गाडी हुँदैन थिए, त्यो बेला। निकै साना गाडी चल्थेँ।

फिल्म खेल्ने त राजा मानिन्थे
विराटनगरमा डिप्लोमा पढ्दा पढ्दै नाट्यकर्मी बद्री अधिकारी लगायतसँग संगत भयो। म नाटकमा लागेँ। प्रज्ञा प्रतिष्ठानले बर्सेनि नाटकको आयोजना गर्थ्यो। हामीले पनि सालिन्दा एप्लाई गर्थ्यौँ त्यो बेला। अनि डिप्लोमा (ब्याचलर)पढाइ सकेपछि २०३९ सालमा नाटक देखाउने सिलसिलामा प्रज्ञा प्रतिष्ठानमा आइयो।

यहाँ आएपछि फिल्म ‘आदर्शनारी’का लागि कलाकार मागेको विज्ञापन गरेको सुनियो। अनि अडिसन दिन म लगायत केही साथीले निर्देशक हेम लामालाई भेट्यौँ।

अडिसन पनि दियौँ तर, म छनोट भएँ अरू भएनन्। उहाँले मेरो ठूलो आवाज भएकोले एमसीमा रोल दिन्छु भन्नुभयो। यो समयमा दुई वर्षमा एउटा फिल्म बन्थ्यो। जो कोहीले फिल्म खेल्न पाउँदैन थिए। अनि फिल्म खेल्नु भनेकाे त राजा बराबर हुन्थ्यो।

फिल्म खेलेपछि नाटकमा नै लागेँ। नाटकमा पनि राम्रै कमाइ हुन्थ्यो। नाटकमा काम गर्दा राम्रै पारिश्रमिक हुन्थ्यो। फिल्म ‘आदर्शनारी’ बन्नुअघि 'जुनी', 'बदलिँदो आकाश','जीवनरेखा' फिल्महरू निर्माण भइसकेका थिए। यीमध्ये फिल्म 'बदलिँदो आकाश','जीवनरेखा’चाहिँ सरकारी प्रोजेक्टका हुन्।

त्यो बेला शाही नेपाली चलचित्र संस्थाले लगानी गरेको थियो। त्यो समय व्यक्तिले भन्दा पनि सरकारले नै फिल्ममा लगानी गरिदिन्थ्यो। सरकारले फिल्म ‘सिन्दुर','मनको बाँध','हिजो आज र भोलि','परिवर्तन','आमा’लगायत फिल्म निर्माण गरेको हो।

शाही नेपाल चलचित्र संस्थान २०२९ सालमा स्थापना भएको हो। त्यसअघि श्री ५ को सरकार प्रचारप्रसार विभाग भनिन्थ्यो। यसले ३ वटा फिल्म बनाएको थियो, एउटा ‘आमा’,अर्को ‘परिवर्तन’ र ‘हिजोआजभोलि’। 

फिल्म ‘आमा’चाहिँ तत्कालीन व्यवस्थाको प्रचारप्रसारका लागि बनाइएको थियो। यो २०२० सालमा निर्माण भएर ०२२ सालमा रिलिज गरिएको थियो। यो समयमा निजी क्षेत्रबाट पनि फिल्म बनाउन सुरू भएको थियो।

२०२२ सालमा निजी क्षेत्रबाट फिल्म ‘माइतीघर’निर्माण भयो। २०२९ सालमा शाही नेपाल चलचित्र संस्थानको स्थापना भएपछि यसको पहिलो महाप्रबन्धक यादव खरेल हुनुहुन्थ्यो।

नेपालमा फिल्म निर्माण गर्ने दक्ष जनशक्ति थिएन। अनि नेपालका प्रकाश थापा बलिउडका चल्तीका हिरो हुनुहुन्थ्यो। उहाँ भारतका फिल्ममा परिचित हुनुहुन्थ्यो। उहाँ फिल्ममा मेन रोलमा पनि खेल्नुहुन्थ्यो, साइडमा पनि।

पहिलो फिल्म निर्माणका लागि हीरा सिंह खत्रीलाई राजा महेन्द्रले बोलाएर ल्याएर फिल्म ‘आमा’ निर्माण गरे। त्यसपछि अर्को फिल्मका ‘हिजो आज र भोलि’ बनाए। त्यसपछि हीरासिंह भारत नै गए। उनी भारत गएपछि धनकुटाका प्रकाश थापालाई भारत गएर बोलाएर फिल्म ‘मनको बाँध’ बनाएको थियो। त्यो पनि नेपाल सरकारको कमर्सियल फिल्म। 

नेपाली भाषाकाे पहिलो फिल्म ‘सत्य हरिशचन्द्र’ हो पनि भन्ने गरेका छन्। त्यो नेपाली फिल्म होइन, इन्डियन हो। उनीहरूको इच्छा चाहनाअनुसार बनाएपछि नेपाली भाषामा डबिङ गरेर नेपाल ल्याएर त्रिभुवन सरकारलाई देखाइदिए।

राजा महेन्द्र सरकार मुम्बई भ्रमणका बेला राजा महेन्द्रको एडिसीको नाता पर्थ्यो या के थियो हिरासिंह खत्री इन्डियामा काम गरिरहेका थिए। राम्रै फिल्म मेकिङ गरिरहेका थिए। तिमी नेपालमा आएर फिल्म बनाइदेऊ भनेर महेन्द्रले भनेको हुनाले बनाइदिएका हुन्।

वि‌.सं. २०१८ सालमा नेपाल आए। यो समयमा नेपालमा भर्खर राज्य व्यवस्था परिवर्तन आएको थियो। नेपालमा पञ्चायत व्यवस्था लागू भएको थियो। त्यो समयमा कमर्सियल फिल्म बनाउने सम्भावना नभएर उनले डकुमेन्ट्री, राजा महेन्द्रको बनाएर गए।

नेपालको पहिलो पिक्चर चाहिँ त्यसलाई मान्नुपर्छ। त्यो समयमा बनेका कमर्सियल फिल्म भने पनि तत्कालीन व्यवस्थाको प्रचारप्रसार गर्ने खालका थिए।

राजा महेन्द्रले लैनसिंह बाङ्देल र अमर गुरुङलाई दार्जिलिङबाट नेपाल ल्याए। उनले प्रतिभाशाली मान्छेहरू खोजी-खोजी नेपाल ल्याउथेँ। धेरै मान्छेहरू नेपाल बाहिरबाट ल्याएका छन्। ती नेपाली नै हुन् नि फेरि। यसरी नेपालमा फिल्मको उदय भएको हो।

नाटक र टेलिफिल्ममा मोह 
नेपालमा वि‌.सं.२०४२ सालमा नेपाल टेलिभिजनको स्थापना भएपछि टेलिफिल्मतर्फ मोडिए। तर, नाटक चाहिँ यो बेला पनि छोडिएको थिएन। नाटक र टेलिफिल्ममा काम गर्न थालियो। फिल्म वर्ष वा दुई वर्षमा एउटा बन्थ्यो। यी सबैमा काम गरिन्थ्यो।

फिल्म र टेलिफिल्मको गति ४५ सालपछि बढेकाे हाे। त्यो समयमा मैनाली लेखन र अभिनय सँगसँगै गरे। उनले पहिलो पटक लेखेकाे कमर्सियल फिल्म ‘तिलहरी’हो। २०४४ सालमा प्रदर्शनमा ‘तिलहरी’ पछि उनले ‘फेरि भेटौँला’, ‘गोपीकृष्ण’, ‘सम्पत्ति’ लेखे। ती पनि राम्रैगरी चले।

‘भ्रष्टाचार गर्दा राजाले मार्छ भनेर डराउँथे’
भ्रष्टाचारको कुरा गर्ने हो भने त्यो बेला पनि हुन्थ्यो। तर,सीमित मान्छेहरूले भ्रष्टचार गर्थे, तर थाहा पायो भने राजाले मार्छ भन्थेँ डराउँथे। कतिपय मान्छेहरू चोर्नु ढाट्नु हुँदैन भनेर भ्रष्टचार गर्न डराउँथे। तर, अहिलेका जस्तो खुलेआम भ्रष्टाचारचाहिँ हुँदैन थियो।

२०३८ सालमा नै मैले ‘दन्त्य कथाभित्रको क्रान्ति’ विराटनगरमा नै मैले नाटक मञ्चन गरेको थिए। यथार्थ घटनामा आधारित नाटकमा नै मैले लेखेको थिए। त्यो नाटक गर्दा मलाई पुर्जा नै काटिएको थियो। नाटक अलि क्रान्तिकारी नै थियो।

त्यतिबेलाको कुरिती, भ्रष्टाचार र बेथितिविरुद्ध नाटक थियो। मैले यो नाटक काठमाडौंमा पनि मञ्चन गराएको थिए। यो बेला सूर्यबहादुर थापा प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यसपछि लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुनुभयो। मैले देख्दा सरकारी काममा छिटो र छरितो हुन्थ्यो। साना कर्मचारीले भ्रष्टाचार गर्दैन थिए। किनभने हेर्दिने मान्छे दरबार छ भन्ने हुन्थ्यो,अहिले पो कोही छैन त?

‘राजालाई टेरेनन्, बाबुरामले छाडेनन्’
काठमाडौं बन्न थालेको २०२८ सालबाट हो। अहिले हामीले देखेको दरबारमार्ग त्यो २८ सालपछि नै खुलेको हो। पहिला मान्छेहरू एयरपोर्ट जाँदा डिल्लीबजारको बाटो हुँदै जान्थे। अन्त बाटो थिएन। २०३२ सालमा राजा विरेन्द्रले ज्ञानेश्वर-गौशालाको बाटो बढाउन मुआब्जा दिएका थिए। मान्छेहरू अटेर गरे। गणतन्त्र आइसकेपछि बाबुराम भट्टराईले छाडेनन्। जसरी पनि भत्काए।

असार ७, २०८० बिहीबार २०:०१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।