माओवादीले बोलायो असार २३ गतेका लागि केन्द्रीय समिति बैठक

माओवादीले बोलायो असार २३ गतेका लागि केन्द्रीय समिति बैठक

काठमाडौं : सत्तारुढ दल माओवादी केन्द्रले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। यही असार २३ गतेदेखि राजधानीको प्रज्ञा–प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको हो। 

बैठकमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, आयोगका सदस्य र प्रदेशका पदाधिकारी गरी करिब सात सय सहभागी हुने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए।

बैठकमा विचार मिल्ने राजनीतिक दलसँगको एकताका साथै नवगठित समाजवादी मोर्चाका सन्दर्भमा पनि छलफल हुने उनले बताए।

उनले पार्टी सदस्यता नवीकरण तथा व्यवस्थित गर्ने, कार्य विभाजनलाई टुङ्गो लगाउने विषयमा पनि बैठकमा छलफल हुने जानकारी दिए।

केन्द्रीय सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय सदस्य दुई सय दुई गरी माओवादीको केन्द्रीय समिति पाँच सय ८८ सदस्यीय रहेको छ। माओवादीमा तीन आयोग, सात भौगोलिक र तीन गैरभौगोलिक प्रदेश रहेका छन्। 

लामो समयदेखि माओवादीको केन्द्रीय समिति बैठक बस्न सकेको छैन। माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएपछि ‘भर्चुअल’ रुपमा केन्द्रीय समिति बैठक बसेको थियो। 

यसअघि गत वर्ष असारमा केन्द्रीय समिति बैठक बसेको थियो।

असार ७, २०८० बिहीबार १५:३२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।