‘जब लिंक एप’ बनाउँदै बालेन, महानगरलाई शून्य बेरोजगार सहर बनाउने योजना

‘जब लिंक एप’ बनाउँदै बालेन, महानगरलाई शून्य बेरोजगार सहर बनाउने योजना

काठमाडौं : महानगरपालिकाले बेरोजगारहरुको लागि लक्षित गरेर ‘जब लिंक एप’ बनाउने भएको छ।

मेयर बालेन्द्र शाह (बालेन) ले बुधबार आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त एप मार्फत रोजगारको अवसर सिर्जना गरेर महानगरलाई शून्य बेरोजगार शहर बनाउने बताएका हुन्। 

महानगरले पाँच हजार नयाँ रोजगारी लिने पनि लक्ष्य लिएको छ। महानगरवासीको जीवनयापनलाई गुणस्तरयुक्त बनाउन सीप विकास र रोजगारीका अवसरहरू सिर्जना गर्ने, समावेशी र मर्यादित पेसा प्रवर्द्धन गर्ने किसिमका कार्यक्रमहरु तर्जुमा गरी सञ्चालनमा ल्याइने सामाजिक विकास सम्बन्धी कार्यनीतिमा उल्लेख गरेको छ। 

यसमा सहरी गरिबको पहिचान गरी सीप विकास तथा आयमूलक तालिम कार्यक्रमको सञ्चालन मार्फत उत्पादनशील रोजगारीको अवसर सिर्जना गरिने बताइएको छ।

त्यसैगरी महानगरवासीको सुख दुःखको अवस्थामा साथी महानगर स्वर्णीम योजनाको कार्यक्रम सञ्चालन, स्थानीयहरुमा महानगरप्रति भावनात्मक सम्बन्ध विस्तारका लागि ‘महानगर सोसियल साइट’ संचालन, ज्येष्ठ नागरिक तथा एकल व्यक्तिहरूका लागि उपत्यका भ्रमण कार्यक्रम, अपाङ्गता भएका व्यक्तिहरूका लागि विशेष कार्यक्रम, न्यून आय भएका तथा असहाय वर्गका परिवारलाई जन्म, मृत्यु तथा चाडपर्वहरूमा सहयोग केन्द्रित कार्यक्रमहरू सञ्चालनमा ल्याइने पनि मेयर शाहले बताए। 

ज्येष्ठ नागरिकहरुको लागि उनीहरुको ज्ञान, अनुभव, क्षमता र सीपलाई पुस्तान्तरण गर्दै सक्रिय बुढ्यौलीलाई बढावा दिने कार्यक्रमहरु सञ्चालन गरिने नीति पनि महानगरले बनाएको छ।

त्यस्तै महिलाको श्रमलाई आर्थिक उपार्जनमूलक कार्यमा लगाउन रैथाने परिकार तथा उत्पादनको साप्ताहिक मेला आयोजना गर्न समन्वय गर्दै उद्यमशील महिलाहरूलाई सहुलियत ब्याजदरमा ऋण प्रवाह गर्न सहजीकरण गरिने भएको छ।

मेयर शाहका अनुसार मानव सेवा आश्रमसँगको सहकार्यलाई निरन्तरता दिंदै महानगर क्षेत्रभित्रका असहाय बालबालिकाको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गरिने,  विपन्न, दलित, आदिवासी जनजाति, पिछडिएका वर्ग र अपागंता भएकाहरूका लागि समेत विशेष संरक्षणका कार्यक्रमहरु सञ्चालन गरिने छ ।

असार ७, २०८० बिहीबार १३:३१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।