चीनको एक रेस्टुरेन्टमा शक्तिशाली विष्फोट, ३१ जनाको मृत्यु

चीनको एक रेस्टुरेन्टमा शक्तिशाली विष्फोट, ३१ जनाको मृत्यु

चीनको एक रेस्टुरेन्टमा ग्यास चुहावटका कारण भएको शक्तिशाली विस्फोटमा कम्तीमा ३१ जनाको मृत्यु भएको छ।

घटना चीनको उत्तरपश्चिमी सहर यिनचुआनको हो। तरल पेट्रोलियम ग्याँस चुहावटका कारण विस्फोट भएको चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ। दुर्घटनामा सात जना घाइते भएका छन्, जसमध्ये एकको अवस्था गम्भीर छ।

यिनचुआनको आवासीय क्षेत्रमा रहेको फुयाङ बारबेक्यू रेस्टुरेन्टमा बुधबार राति करिब ९ बजे विष्फोट भएको हो।

यिनचुआन चीनको नान्जिङ प्रान्तको राजधानी हो। चीनमा तीन दिने ड्र्यागन बोट फेस्टिवल चलिरहेको छ। यस्तो अवस्थामा ठूलो संख्यामा मानिसहरू बाहिर निस्कन्छन् र साथीहरूसँग पार्टी गर्छन्। 

घटनाको जानकारी पाएलगत्तै एक दर्जनभन्दा बढी दमकलको टोलीले घटनास्थलमा स्थिति नियन्त्रणमा लिएको थियो।

विष्फोट भएको रेस्टुरेन्ट पूर्ण रुपमा ध्वस्त भएको छ। यस रेस्टुरेन्ट नजिकै अन्य धेरै रेष्टुरेन्टहरू रहेकाले आगो अन्य रेष्टुरेन्टहरूमा पनि फैलिने खतरा थियो तर समयमै आगो नियन्त्रणमा आएको थियो।

घटनापछि चिनियाँ राष्ट्रपति सी चिनफिङले सबै उद्योगमा सुरक्षा व्यवस्था कडा बनाउन निर्देशन दिएका छन्। 

असार ७, २०८० बिहीबार १०:३६:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।