जिल्लाभरि फैलियो लम्पी स्कीनः आठ हजार पशुचौपाया संक्रमित, पाँच सय मरे

जिल्लाभरि फैलियो लम्पी स्कीनः आठ हजार पशुचौपाया संक्रमित, पाँच सय मरे

बैतडी : जिल्लामा लम्पी स्कीन रोगबाट आठ हजार दुई सय पशुचौपाया संक्रमित भएका छन्। हालसम्म लम्पी स्कीनबाट पाँच सय दुई पशुचौपाया मरेका छन्। 
 
भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख गुमानीदत्त पन्तका अनुसार जिल्लामा गत मंसिरमा पाटनमा केही किसानले पालेका पशुमा यो रोग देखिएको थियो। हाल जिल्लाभरि फैलिएको छ।

लम्पी स्कीनबाट बाच्छाबाच्छी, गाई, गोरु र भैँसी बढी प्रभावित भएका छन्। लम्पी स्कीनबाट दुई हजार तीन सय ४८ बाच्छाबाच्छी, दुई हजार नौ सय ६० गाई, दुई हजार दुई सय ८० गोरु र छ सय ४५ भैँसी संक्रमित भएका छन्।  

लम्पी स्कीन रोगले गाई, गोरु र भैँसी धमाधम मर्न थालेका छन्। हालसम्म एक सय ३५ बाच्छाबाच्छी, एक सय ७६ गाई, एक सय ३२ गोरु र ३० भैँसी मरिसकेका पन्तले जानकारी दिनुभयो। लम्पीस्कीनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेका छन्। घरपालुवा पशुमा सङ्क्रमण र उक्त रोगले धमाधम मर्न थालेपछि चिन्ता बढेको दोगडाकेदार–३ श्रीकोटका मानसिंह विष्टले बताए। 

उनले भने, 'घरपालुवा जनावर धमाधम थला पर्न थालेका छन्। औषधि उपचार पनि छैन।'

मकै छर्ने बेला गोरु बिरामी भएको उल्लेख गर्दै विष्टले रोपाइँ गर्न समस्या भएको बताउनुभयो। उनले भने, 'मकै छर्ने बेला गोरु बिरामी भएर समस्या भयो, अब रोपाइँ गर्ने बेला भयो, के गर्ने भन्ने चिन्ता छ।' रोगबारे प्रदेश सरकार र केन्द्र सरकारलाई जानकारी गराइसकेको प्रमुख पन्तले बताए। जिल्लाका ८४ वटै वडामा यो रोग फैलिसकेको छ।  

नियन्त्रणका लागि सामान्य औषद्योपचार भइरहेको भए पनि नियन्त्रण हुन नसकेको पन्तको भनाइ छ। लम्पी स्कीनको औषधि नभएका कारण यो रोगबाट प्रभावित पशुको उपचारमा समस्या भएको छ। उनले भने, 'सामान्य औषद्योउपचारबाहेक अन्य कुनै नियन्त्रणको उपाय छैन, सरकारी जनशक्ति मात्रै यो रोग नियन्त्रण हुने अवस्था छैन। अहिले संक्रमित देखिएका पशु पनि मर्ने क्रम झन बढ्ने देखिन्छ।'

असार ७, २०८० बिहीबार १०:११:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।