काठमाडौँ महानगरको अवस्था अँध्यारो सडक तर, नीति भने 'उज्यालो सहर, मेरो महानगर'

काठमाडौँ महानगरको अवस्था अँध्यारो सडक तर, नीति भने 'उज्यालो सहर, मेरो महानगर'

काठमाडौँ : काठमाडौँ महानगरपालिका क्षेत्रको मुख्य सडक मार्ग नै अँध्यारो।छ। कहिकतै धिपधिपे सोलार लाइट अन्तिम सास फेरिरहेझैँ मुस्किलले बल्छ।
तर नीति भने  सडक बत्तिको परियोजनालाई गौरवको योजना रूपमा बनाइन्छ।

महानगरका मेयर बालेन्द्र शाहले बुधवार आगामी आर्थिक वर्ष २०८०।८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरे जसमा महानगरको आफ्नै संयन्त्र वा जीटुजी र सामाजिक उत्तरदायित्व मार्फत उज्यालो सहरको कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।

अहिले दिन लामो हुने समय भएकाले महानगरको सडक अँध्यारो भएको महसुस नगरेता पनि यहाँका प्राय सब बत्ती बल्दैनन्।

विद्युत् प्राधिकरणसँग सम्झौता भएको कारण त्यसै मार्फत बत्ती बाल्ने महानगरको दाबी छ।

सडक किनारामा पोल छ। पोलमा निजी कम्पनीको विज्ञापन पनि छ। तर बत्ती बल्दैन।
प्राधिकरणसँगको योजना सम्पन्न हुन करिब एक वर्ष लाग्छ।

यता महानगरले भने आफ्नो आगामी नीतिको लागि 'उज्यालो सहर, मेरो महानगर' परियोजनालाई गौरवका योजनाको रूपमा सञ्चालन गर्ने उल्लेख गर्दै विभिन्न एक सय स्थानमा हाइ मास लाइट जडान गर्ने लक्ष्य राखेको छ। प्राधिकरणसँग भएको सम्झौता अनुरूप काम सम्पन्न नभएसम्म बत्ती बल्छ वा बल्दैन भन्नेबारे भने महानगरले केही खुलाएको छैन।

महानगरलाई स्मार्ट सिटीका रूपमा र स्थानीय टोलहरूलाई क्रमशः स्मार्ट टोलका रूपमा विकसित गर्न आवश्यक बजेट विनियोजन गरिने योजना उल्लेख छ।

प्रत्येक बस स्टपलाई परम्परागत स्वरूपको फल्चामा रूपान्तरण गरिने, बस स्टप रहेको स्थानहरूमा जग्गा उपलब्ध भएसम्म सार्वजनिक शौचालय, खानेपानी तथा फ्री वाइफाई समेत जडान गरिने उल्लेख छ। यो पुरानै योजना हो जुन पूरा हुन सकेन अनि दोहोरियो।

सो कार्यको सामाजिक उत्तरदायित्व अन्तर्गत साझेदारीमा सञ्चालन हुने जनाइएको छ।

स्वच्छ खानेपानी तथा सफा सार्वजनिक शौचालयमा नागरिकको पहुँच वृद्धि गर्न स्वर्णिम योजनाको रूपमा सार्वजनिक शौचालयको सुविधा उपलब्ध गराइने नीति महानगरले लिएको छ।

खानेपानीको पर्याप्त आपूर्तिका लागि सरकारी निकाय, निजी क्षेत्र र सेवा प्रदायकसँग सहकार्य गर्ने जनाइएको छ।

महानगरपालिकाका सम्पूर्ण सडकहरूलाई आगामी तीन वर्षभित्र गुणस्तरीय पक्की सडकमा रूपान्तरण गर्न र सडक पेटीको स्तरोन्नतिका लागि धुलो रहित काठमाडौँ गौरवको योजना तर्जुमा गरी सञ्चालनमा ल्याइने, सडक निर्माण कार्यलाई थप व्यवस्थित एवम् गुणस्तरीय बनाउनका लागि आफ्नै आस्फाल्ट प्लान्ट स्थापना गरी सञ्चालन गरिने पनि मेयर शाहले जनाए।

आफ्नो क्षेत्रभित्रका निर्माण कार्यमा प्रयोग हुने निर्माण सामग्रीहरूको गुणस्तर र मापदण्ड निर्धारण गर्दै निर्माण कार्य गर्दा वातावरणीय प्रदूषण कम हुने, कामदारको उचित सुरक्षाको प्रत्याभूति हुने, स्वदेशी कामदारहरूको ज्ञान, सिप र क्षमताको अधिकतम उपयोग सुनिश्चित हुने गरी पूर्वाधार निर्माण कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने उनको भनाइ छ।

महानगर क्षेत्रभित्रका सडक, ढल, फुटपाथ, सडक बत्ती आदी जस्ता तत्काल मर्मत सम्भार गर्नुपर्ने कार्यलाई सम्पन्न गर्ने उद्देश्यले स्थापित पूर्वाधार एम्बुलेन्स सेवालाई कार्यविधि तर्जुमा गरी कार्यान्वयनमा ल्याइने, सडक पेटीहरूमा पैदल यात्रालाई सहज तथा सुरक्षित बनाउन एवं अपाङ्गतामैत्री बनाउनका लागि सडक पेटीमा रहेका अवरोधहरू स्थानान्तरण गर्न कानुन तर्जुमा गरिने नीतिमा उल्लेख गरिएको छ।

त्यस्तै महानगरको पूर्वाधार सम्बन्धी कार्यनीतिमा सार्वजनिक जग्गाहरू अतिक्रमण गरी बनाइएका अनधिकृत संरचना हटाई खुल्ला क्षेत्रको रूपमा विकास गरिने र सार्वजनिक, ऐलानी, पर्ती, नदी उकास, नदी किनार, नदी करिडोर, गुठी तथा सरकारी जग्गाहरूको लगत अद्यावधिक गरी सोको संरक्षण, संवर्धन तथा उपयोग गरिने पनि उल्लेख गरिएको छ।

मेयर शाहले महानगरपालिकाका मिश्रित घनावस्ती क्षेत्रभित्र सहरी पुनर्विकासको सम्भाव्यता अध्ययन गरिने र हाल सञ्चालनमा रहेका जग्गा एकीकरण आयोजनाहरूलाई यसै आर्थिक वर्षभित्र सम्पन्न गरिने बताए।

असार ७, २०८० बिहीबार ००:०६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।