नाफामुखी शिक्षालाई दुरुत्साहित गर्दै काठमाडौँ महानगर, प्राविधिक शिक्षामा जोड
काठमाडौं : काठमाडौँ महानगरपालिकाले नाफामुखी शिक्षालाई दुरुत्साहित गर्दै सेवामुखी शिक्षा विकासका लागि संस्थागत संयन्त्र सञ्चालनमा ल्याइने तयारी गरेको छ।
मेयर बालेन्द्र शाहले बुधवार आगामी आर्थिक वर्ष २०८०।८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संस्थागत विद्यालयहरूको व्यवस्थापन तथा पठनपाठन कार्यको नियमित अनुगमन नियमनका माध्यमबाट नाफामुखी शिक्षालाई दुरुत्साहित गर्ने जानकारी दिएका हुन्।
'महानगरपालिका क्षेत्रभित्रका सम्पूर्ण विद्यालयको पूर्वाधार विकास तथा शैक्षिकस्तर सुधारका लागि शिक्षा विकास योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ । संस्थागत विद्यालयहरूको व्यवस्थापन तथा पठनपाठन कार्यको नियमित अनुगमन नियमनका माध्यमबाट नाफामुखी शिक्षालाई दुरुत्साहित गर्दै सेवामुखी शिक्षा विकासका लागि एक संस्थागत संयन्त्र सञ्चालनमा ल्याइनेछ' शिक्षा सम्बन्धी कार्यनीतिमा उल्लेख छ।
त्यस्तै सुविधा सम्पन्न इसीइडी (प्रारम्भिक बाल शिक्षा र विकास) कक्षा, आवश्यक भौतिक पूर्वाधार विकास, बुक फ्री फ्राइडे, सिपमूलक शिक्षा, मेरो विद्यालय म बनाउँछु, विद्यालयको सुन्दरता तथा हराभरा विद्यार्थीहरूको सहभागिताका साथै सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना दर कम्तीमा २५ प्रतिशतले वृद्धि गर्ने महानगरले शैक्षिक लक्ष्य लिएको छ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने क्षमताको विकास गर्न आधारभूत प्राविधिक ज्ञान र सिपका साथै तन्दुरुस्त जीवनका लागि खेलकुद र त्यसलाई आवश्यक पर्ने पूर्वाधार सहितको गरिखाने शिक्षा, महानगरको इच्छा भन्ने नाराकासाथ शिक्षाको गुणस्तर अभिवृद्धि गर्न महानगर गौरवको योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइने मेयर शाहले बताए।
महानगर भित्रका सबै निजी तथा सामुदायिक विद्यालयहरूमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय विषय नेपाल भाषाको पाठ्यक्रम अनुरूप पठनपाठन गर्ने कार्यलाई निरन्तरता दिइने, विद्यालयको पाठ्यक्रममा स्थानीय भाषा, नैतिक शिक्षा, प्राविधिक शिक्षालाई प्राथमिकतामा राखी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरूसँग शिक्षण सिकाइका अनुभवहरू आदानप्रदानको व्यवस्था मिलाइने र अपाङ्गता भएका विद्यार्थीहरूलाई अनुकूल हुने गरी समावेशी शैक्षिक वातावरणको सिर्जना गरिने पनि कार्यनीतिमा जनाइएको छ।
त्यसैगरी सामुदायिक विद्यालयहरूको सुन्दरता बढाउन विद्यार्थीहरूको सहभागितामा सम्पूर्ण विद्यालयहरूलाई सुन्दर, कलात्मक र हरियालीयुक्त बनाउनका लागि स्वर्णिम योजनाका रूपमा सुन्दर विद्यालय परियोजना सञ्चालनमा ल्याइने पनि मेयरले बताए।
यसका लागि विद्यार्थीहरूको संलग्नतामा क्लब गठन गरी बुक फ्राइडे कार्यक्रमसँग यस परियोजनालाई आबद्ध गरी सञ्चालन गरिने र निजीस्तरमा सञ्चालित शैक्षिक परामर्श सेवा केन्द्र, कोचिङ सेन्टर, तालिम केन्द्र, छात्रावास आदिको प्रभावकारी नियमन गरिनेछ बताइएको छ।
सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूका लागि नियमित स्वास्थ्य परीक्षण सेवा सञ्चालन गर्न एक विद्यालय एक नर्स र विद्यालयमा मनोसामाजिक परामर्शको लागि एक विद्यालय एक सामाजिक सहजकर्ता परिचालन गर्ने कार्यक्रम पनि यस पटक समावेश गरिएको छ।
साथै संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको नियमित स्वास्थ्य जाँच भए नभएको अनुगमन गरिने र छात्राहरूका लागि निःशुल्क सेनेटरी प्याड र प्याड डिस्पोजेबल मेशिन एवं विद्यार्थीहरूका लागि लकरको व्यवस्था समेत गरिने मेयर शाहले बताए।
असार ६, २०८० बुधबार २२:५८:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।