अव्यवस्थित तार धमाधम हटाउँदै बुटवल उपमहानगर, नटेरे वडाको बजेट कटौतीसम्म गरिने

अव्यवस्थित तार धमाधम हटाउँदै बुटवल उपमहानगर, नटेरे वडाको बजेट कटौतीसम्म गरिने

बुटवल : बुटवल सहर दूरसञ्चार, इन्टरनेट सेवा प्रदायक र विद्युतका तारले कुरूप बनेको समाचार सार्वजनिक भएसँगै बुटवल उपमहानगरपालिका एक्सनमा उत्रेको छ।

अव्यवस्थित तारले बुटवल कुरूप बनेको समाचार उकेराले पनि प्रकाशित गरेको थियो। 

अहिले बुटवल अव्यवस्थित तारका कारण मात्र कुरूप छैन, तारका कारण जोखिम पनि उत्तिकै छ। देख्दै पट्यारलाग्दा तारको गुजुल्टो र अस्तव्यस्त तारका कारण दुर्घटनासमेत बढेको छ। 

त्यही कारण उपमहानगरपालिकाले पहिलो चरणमा बुटवल १५ तामनगर-फर्साटिकर सडक र वडाका भित्री सडकको तार व्यवस्थापन गर्न १० दिन सम्बन्धित सबैलाई आग्रह गरेको छ।

मंगलबार एक सूचना जारी गर्दै उपमहानगरपालिकाले केवल पोल तारका कारण गाउँ टोल अस्तव्यस्त भएको र यातायातको  साधन आवतजावतमा समस्या भएकाले केवलको तारमा आफ्नो ट्याग लगाउन र तार पोल व्यवस्थित गर्न निर्देशन दिएको छ।

बुटवल उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष शिव रानाले वडाभित्र तार व्यवस्थापन नभए सबैलाई कानुनअनुसार कारबाही गर्ने बताए। 

तार व्यवस्थापन कार्यलाई सबै वडामा क्रमशः लागू गर्दै जाने उनले बताए। ‘सबै वडाबाट तारका गुनासो आएका छन्। हामीले क्रमशः यसको व्यवस्थापन गर्छौ। तार व्यवस्थापन भएपछि सहर सुन्दर हुन्छ भने दुर्घटनाको जोखिम पनि कम हुन्छ’, उनले भने। 

उनले बुटवलका केही वडामा यसअघि मौखिक आदेशअनुसार तार व्यवस्थापन गर्न लगाएको भए पनि अब उपमहानगरपालिकाले यस विषयमा कडा भएर लाग्ने बताए। 

वडा नं. १५ ले सूचना जारी गरेर तार व्यवस्थित गर्न निर्देशन दिए पनि अहिले बुटवलका चोक चोकमा तार असरल्ल भुईंमै छन्। 

तार व्यवस्थापन गर्न सम्बन्धित निकायले बेवास्ता गरेका छन्। विद्युतका पोल ढल्ने गरी गुजुल्टो पारिएको तारले बेला बेलामा आगालागीका घटनासमेत हुने गरे पनि नियमन निकाय यसबारे बेखबर जस्तै बनेको छ।

बुटवलको योगिकुटी, मिलनचोक, बसपार्क, देवीनगर, अस्पतालाई, ट्राफिकचोक, हाटबजार, दीपनगर, गोलपार्क क्षेत्रमा अहिले भित्री सडक र मुख्य राजमार्गमा तार यत्तिकै छाडिएको छ। 

तारको भार बढी हुँदा कहीँ कतै त विद्युतका पोल नै बांगिएका छन्। तर त्यसको ममर्त नहुँदा दुर्घटनाको जोखिम पनि उस्तै बढेको छ। 

अहिले बुटवलको मुख्य सडक निर्माणधीन छ। फुटपाथ पनि अस्तव्यस्त छ। त्यही फुटपाथमा लत्रिएका अव्यवस्थित तारका कारण पैदलयात्रुलाई समस्या छ। प्रदूषण पनि उत्तिकै छ। 

मिलनचोकदेखि तीनकुनेतर्फ जाने सडकका पोल पोलमा ताल चुँडाएर गुजुल्टो पारी भुईंमै राखिएको छ। उक्त सडक पनि अहिले निर्माण क्रममा छ। 

सहरको सुन्दरता कायम गर्न स्थानीय तहले पनि आफ्नो अधिकार प्रयोग गर्न सक्छ। तर त्यो पनि हुन नसक्दा बुटवल तारकै कारण कुरूप देखिन्छ। 

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले भने सहरको सौन्दर्यलाई प्राथमिकतामा राखेर तारको व्यवस्थापन गरिरहेको बताए। 

उनले ६ महिना अगाडि विद्युत् कार्यालयका प्रमुख संयोजक, दूरसञ्चार कार्यालय र सम्बन्धित वडाध्यक्ष सदस्य रहने गरी समिति बनाएर तार व्यवस्थापनको कार्य सुरु गरेको बताए। 

‘बुटवलमा २२ वटा केवलका संस्थाहरू रहेका छन्। तर ३-४ वटा मात्र नगरमा सूचीकृत छन्। बाँकी सम्पर्कमा आएका छैनन्। करको दायराभित्र नआएका सबैका तार अब व्यवस्थापन नगरे वडाले काट्छ’, पाण्डेले भने। 

उनले पोलमा तार राखेबापत राजश्व विद्युत् कार्यालयले ल्याउने भए पनि अहिले व्यवस्थापनको काममा केही जटिल भने देखिएको उनले बताए। 

वडाले तारको व्यवस्थापन गर्ने भनेपछि बुटवल उपमहानगरपालिका वडा नं. ६ ले तार काट्न सुरु गरेको छ। सम्पर्कमा नआउने संस्थाको तार पोलबाट हट्नेसमेत उपमहानगरपालिकाले बताएको छ।

‘वडा नंं ६ को तार हटाउँदा दूरसञ्चारकै तार परेछ। त्यसपछि दूरसञ्चारका प्रतिनिधि राखेर तार हटाउन भनेको छु, सबै वडामा। सम्पर्कमा नआउनेको तार पोलबाट हट्छ’, उनले भने।

वडा कार्यालयले तारको व्यवस्थापन गर्दै तार नकाटे नगरले दिने १० प्रतिशत बजेट रोक्का गरिने समेत नगरप्रमुख पाण्डेले चेतावनी दिए। 

तारको व्यवस्थापन हुन नसक्दा सहरको सुन्दर पक्ष हटेको उनको भनाइ छ।

असार ६, २०८० बुधबार १०:५५:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।