साफ च्याम्पियनसिप आजबाटः पहिलो खेलमा कुवेतसँग भिड्दै नेपाल

साफ च्याम्पियनसिप आजबाटः पहिलो खेलमा कुवेतसँग भिड्दै नेपाल
तस्वीर सौजन्यः एन्फा

साफ च्याम्पियन्सिप फुटबल आजबाट शुरु हुँदै छ। 

भारतको बेंग्लोरमा हुने प्रतियोगिताको उद्‌घाटन खेलमा नेपालले आज पहिलो खेलमा कुवेतसँग प्रतिस्पर्धा गर्दै छ। कुवेत यसपटक आमन्त्रित टिमको रूपमा साफमा सहभागी भएको हो। 

८ राष्ट्र सहभागी हुने प्रतियोगिताको समूह 'ए' मा नेपाल छ। दुई समूहमा ८ राष्ट्रहरूलाई विभाजन गरिएको छ। नेपाल सम्मिलित समूहमा कुवेतसँगै भारत र पाकिस्तान छन्। 

त्यस्तै अर्को समूहमा बंगलादेश, भुटान, लेबनान र माल्दिभ्स छन्। कुवेतसँगै लेबनान पनि आमन्त्रित राष्ट्र हो। शहीद स्मार 'ए' डिभिजन लिग र मैत्रीपूर्ण खेलका कारण नेपालले पर्याप्त अभ्यास गर्न पाएको छैन। 

१४ औं संस्करणको साफको पहिलो खेल नै नेपाल र कुवेतबीच हुन लागेको हो। नेपाली समयअनुसार बेंग्लोरको श्री कान्तिरवा स्टेडियममा पौने ४ बजे खेल शुरु हुनेछ। 

नेपाल र कुवेतबीच सन् २०१९ यता पाँच खेल भएका छन्। सन् २०१९ मा कुवेतमा भएको मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेपछि चार खेलमा कुवेतले जित निकालेको थियो। 

गत वर्ष एसियन कपको छनोटमा भने कुवेतले नेपालमाथि ४-१ गोलको जित निकालेको थियो।

यसपछि नेपालले भारतसँग २४ जुनमा र पाकिस्तानसँग २७ जुनमा समूह चरणको अन्तिम खेल खेल्नेछ। 

 

असार ६, २०८० बुधबार १०:३७:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।