अविरल वर्षापछि आएको पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

अविरल वर्षापछि आएको पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

सङ्खुवासभा : संखुवासभामा अविरल वर्षासँगै आएको बाढी-पहिरोले उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ।

लगातारको वर्षाले उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी-किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको हो।

वर्षासँगै आएको बाढी पहिरोले मकालु र भोटखोला गाउँपालिका जोड्ने खाँदबारी-किमाथाङ्का सडक ठप्प भएको हो। 

गए राति वर्षासँगै आएको  पहिरोले उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी-किमाथाङ्का  सडकखण्ड अवरुद्ध भएको उत्तर-दक्षिण कोशी सडक कार्यालयका प्रमुख सविन कोइरालाले जानकारी दिए।

उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकामा यातायात सेवा ठप्प भएको छ।

मकालु गाउँपालिका-५ को मुढे र मकालु-३ मा पहिरो खसेको छ। मकालु गाउँपालिका-५ मा मुढे पहिरो हटाउन थालिएको सडक कार्यालयका प्रमुख  कोइरालाले बताए।

अहिले पनि त्यस क्षेत्रमा निरन्तर वर्षा पहिरो खसेका कारण हटाउन अझै केही दिन लाग्ने उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख कोइरालाले जानकारी दिए।

पहिरो खस्ने क्रम नरोकिएका कारण सडक कहिले खुल्छ भन्ने यकिन हुनसकेको छैन। सडक अवरुद्ध भएपछि मकालु र भोटखोला गाउँपालिकासँग सम्बन्ध टुटेको छ।

पहिरोका कारण सदरमुकाम खाँदबारीबाट मकालु र भोटखोला जाने दजनौँ सवारी बीचबाटैमा अपलत्र परेका छन्।

असार ६, २०८० बुधबार ०९:४५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।