विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकाय तयारी अवस्थामा रहन आग्रह

विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकाय तयारी अवस्थामा रहन आग्रह

काठमाडौँः विपद् व्यवस्थापनमा सम्बद्ध सबै निकायलाई उपलब्ध स्रोत, साधन र जनशक्तिसहित तयारी अवस्थामा रहन जिल्ला विपद् व्यवस्थापन समिति ताप्लेजुङले आग्रह  गरेको छ। 

मनसुन सुरु भई जिल्लामा विपद्का घटना भइरहेकाले खोज, उद्धार र राहतका कार्यलाई ढिलो हुन नदिन तयारी हुनुपर्ने निष्कर्षसहित सबै निकायलाई अनुरोध गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन्।

खोज र उद्धारका कार्यसँगै निरन्तर समन्वयमा रहनसमेत उनले अनुरोध गरेकी छन्। 

मङ्गलबार बसेको बैठकले पूर्ण क्षति भएको प्रति घरपरिवारलाई छ बन्डल कर्कटपाता उपलब्ध गराइदिन आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशलाई अनुरोध गर्ने निर्णय गरेको छ।

बाढीपहिरामा परी मृत्यु भएका आफन्त तथा नजिकको हकदारलाई र आंशिक तथा पूर्णरूपमा घर क्षति भएकालाई मापदण्डबमोजिम राहत उपलब्ध गराउनसमेत उक्त मन्त्रालयलाई अनुरोध गरिएको छ।

यस्तै विस्थापित परिवारलाई तत्काल रेडक्रसबाट गैर खाद्य सामग्री उपलब्ध गराउने, अन्नपातसहितको क्षति भएका परिवारको गुजाराका लागि स्थानीय तहले सहयोग गर्ने, घाइते भएकालाई स्थानीय अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने, उपचारका लागि आर्थिक सहायता आवश्यक परे प्रदेश सरकारसँग माग गर्नेसमेत निर्णय भएको छ।

असार ६, २०८० बुधबार ०८:२०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।