आदिपुरुष विवादः रामनन्द सागरका छोराले भने, 'स्वतन्त्रताका नाममा हामीले सीमा नाघेका थिएनौँ'

आदिपुरुष विवादः रामनन्द सागरका छोराले भने, 'स्वतन्त्रताका नाममा हामीले सीमा नाघेका थिएनौँ'

जुन १६ मा रिलिज भएको फिल्म आदिपुरुषले तीन दिनमा ३४० करोड कमाएर बक्स अफिसमा बम्पर सुरुवात गरेको भए पनि कमजोर भीएफएक्स र संवादका कारण विवादमा परेको छ।

३६ वर्षअघि आएको पौराणिक टेलिभिजन शो रामायणको आज पनि मानिसहरूले प्रशंसा गरिरहेका छन्। तर सामाजिक सञ्जालमा 'आदिपुरुष'का निर्मातालाई गाली गरिरहेका छन्।

सन् १९८७ मा आएको रामायणका निर्माता-निर्देशक रामानन्द सागर जीवित त छैनन्। तर उनका छोरा प्रेम सागरले 'आदिपुरुष'ले सिर्जनशीलताको नाममा सीमा बिर्सिएको बताएका छन्। भारतीय एक पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले भने, 'हामीले १४ रामायण पढेर सिरियल बनाएका थियौँ, तैपनि हामीमाथि मुद्दा दर्ता भएको थियो।'  प्रेम सागर पनि टीभी शो रामायणको निर्माणको एक हिस्सा थिए। 

उनले भने, 'मैले आदिपुरुष देखेको छैन, तर यसको टिजर र ट्रेलर हेरेको छु। म यति मात्र भन्न सक्छु कि फिल्म रिलिजपछि मैले यसका संवादहरू सुनेँ। लंका लगा दूंगा, जलेगी भी तेरे बापकी जस्ता संवाद रामायणको अपमान हो। रामायणमा यस्ता शब्द सुनेर मेरो आत्मा दुःखी भयो।' 

निर्माण टिमले यदि आधुनिक रामायण बनाएको भए पनि रचनात्मक स्वतन्त्रतालाई यसरी लिनु ठीक नभएको उनले तर्क गरेका छन्। भने, 'जब मेरो बुबा (रामानन्द सागर) ले रामायण शो बनाउनुभयो, उहाँले पनि धेरै रचनात्मक स्वतन्त्रता लिनुभयो, तर उहाँ कहिल्यै आफ्नो दायरा बाहिर जानुभएन।' 

आफ्ना बुवाले वाल्मीकि रामायणका अन्य १४ रामायणहरू पढेका र प्रत्येक विवरणलाई ध्यानपूर्वक सोचेर मात्र अगाडि बढेका उनको भनाइ थियो।

'कुनै गल्ती नहोस् भनेर उनको जोड भाषामा थियो। यसका लागि उनले धर्मवीर भारतीजीलाई बोलाएका थिए, धेरै विद्वानहरूसँग भेटघाट गरेका थिए। रामायणको गरिमा र महत्वबारे राम्ररी थाहा भएकाले उनले हरेक एपिसोडलाई निकै तयारी र जिम्मेवारीका साथ खिच्ने गर्थे।'

असार ५, २०८० मंगलबार १९:२१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।