मन्त्रीको सचिवालयलाई 'कमिसन दिन्छु योजना हाल्दिनुस्' भन्ने कर्मचारी जागिरबाट निकालिए

मन्त्रीको सचिवालयलाई 'कमिसन दिन्छु योजना हाल्दिनुस्' भन्ने कर्मचारी जागिरबाट निकालिए

सुर्खेत : कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहको सचिवालयमार्फत आर्थिक प्रलोभन दिएर योजनाको ‘बार्गेनिङ’ गर्ने एक कर्मचारीलाई प्रदेश योजना आयोगले जागिरबाट हटाएको छ। 

आयोगले ती कर्मचारीलाई मंगलबारै निर्णय गरेर हटाए पनि उनको परिचय भने खुलाएको छैन। योजना आयोगले मंगलबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो।

‘अर्थमन्त्रीज्यूको सचिवालयमा आयोगका जिम्मेवार पदाधिकारी र कर्मचारीहरूको कुनै पनि संलग्नता छैन। मुख्य भूमिकामा नरहेका कुनै एक कर्मचारीले माननीय मन्त्रीज्यूलाई दबाब र प्रभावमा पार्न खोजेको देखिएको छ’, पत्रकार सम्मेलनमा आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले भने, ‘उनलाई हामीले जागिरबाट हटाइसकेका छौं। अहिले नभनौं, आवश्यक परेपछि उनको विवरण खुलाउँला।’

ती कर्मचारीले दिएका अभिव्यक्ति र संवादहरू आयोगको आधिकारिक नभई कर्मचारीको नितान्त व्यक्तिगत सोच र धारणा मात्रै रहेको उपाध्यक्ष शाहीले बताए। 

मन्त्रालय र आयोगले ती कर्मचारीको विवरण सार्वजनिक नगरे पनि तत्कालीन अर्थसचिव चक्रबहादुर बुढाको पालामा योजना आयोगमा उनलाई नायव सुब्बासरह सेवासुविधा पाउने गरी करार नियुक्त गरिएको बुझिएको छ। 

अर्थमन्त्रीको सचिवालयअनुसार ती कर्मचारीले करिब डेढ महिनादेखि नै फोन, म्यासेजलगायत सामाजिक सञ्जालमा आफ्ना योजनाहरू समोवेश गरिदिए योजनाअनुसार अग्रिम नै कमिसन दिने आश्वासन दिएका थिए। 

‘उहाँले डेढ महिना अघिदेखि नै योजना हालिदिएबापत कमिसन दिने कुरा सचिवालयका साथीहरूलाई गर्नुभएको रहेछ। जतिबेला रकमान्तरको समय पनि सुरु भएको थियो’, मन्त्रीको सचिवालयले भन्यो, ‘फेरि जेठमा पनि कुरा गर्नुभएको रहेछ। पछि उहाँको योजना नपरेपछि बधाई छ। मेरो योजना पारिदिएकोमा, तपाईंको मन्त्रीको पद कतिसम्म चल्दोरहेछ, हेरौंला म पनि भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नुभएछ।’ 

बारम्बार उनले सचिवालयका कर्मचारीलाई फोन गरेर धम्की र बार्गेनिङ गर्न थालेपछि मात्रै सचिवालयका कर्मचारीले मन्त्रीसँग उक्त कुरा बताएका थिए। 

केही दिनअघि अर्थमन्त्रीले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारहरूले बजेट निर्माणमा बाहिरी पक्षको दबाब आएको हो कि होइन भन्ने प्रश्न गरेका थिए। मन्त्री सिंहले आफ्नो तर्फबाट बिचौलिया रोक्ने प्रयास भएको दाबीसमेत गरेका थिए।

*शीर्षक परिवर्तन गरिएको 

असार ५, २०८० मंगलबार १७:२६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।