बझाङ जीप दुर्घटना : सुदूरपश्चिमका मन्त्रीकी श्रीमतीसहित २ जनाको मृत्यु

बझाङ जीप दुर्घटना : सुदूरपश्चिमका मन्त्रीकी श्रीमतीसहित २ जनाको मृत्यु

काठमाडौं : बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५० वर्षीया अमृता सिंह र ६० वर्षीया जयादेवी सिंह रहेका छन्।

अमृता सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमती हुन्। 

रायल प्राथमिक स्वास्थ्य केन्द्र देउराका डा. अरविन्द्र अधिकारीका अनुसार दुर्घटनामा घाइते भएकी मन्त्री पत्नी अमृता र भाउजु नाता पर्ने जयादेवीको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदा बाटोमै मृत्यु भएको हो।

त्यसैगरी दुर्घटनामा परी गम्भीर घाइते भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री सिंहलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमा नेपालगन्ज लगिएको छ।

मन्त्री सिंहसँगै जीप चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि उपचारका लागि नेपालगन्ज लगिएको अधिकारीले बताए।

प्रदेश मन्त्री सिंह चढेको सुपप्र ०१००१ झ ४८० नम्बरको जीप  डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडमा सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको थियो।

असार ५, २०८० मंगलबार १७:२४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।