१८ रनमा ४ विकेट गुमाएको अमेरिकाले बनायो २०७ रन, शायनको शतक

१८ रनमा ४ विकेट गुमाएको अमेरिकाले बनायो २०७ रन, शायनको शतक

काठमाडौं : कुनै समय मात्र १८ रनमा ४ विकेट गुमाएको अमेरिकाले सम्हालिएर ब्याटिङ गर्दै नेपाल विरुद्ध २०७ रन बनाएको छ।

सातौं नम्बरका ब्याटर शायन जाहांगीरको शतकको सहयोगमा अमेरिकाले एकदिवसीय विश्वकप छनोटमा नेपाललाई २०८ रनको लक्ष्य दियो।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा अल आउट हुनुअघि २०७ रन बनायो।

जसका लागि शायनले ७९ बलमा १० चौका र ३ छक्कासहित अविजित १०० रनको योगदान दिए। त्यसैगरी सुशान्त मोदानीले ७१ बलमा ३ चौका र १ छक्कासहित ४२ रन बनाएका थिए।

बलिङमा नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए। करण एक्लैले ४ विकेट लिएपछि अमेरिकाको इनिङ धरापमा परेको थियो।

करणले आफ्नो सुरवाती ४.२ ओभरमा मात्र ६ रन खर्चेर २ मेडनसहित अमेरिकाको ४ विकेट लिएका थिए।

करणले दोस्रो ओभरमा लगातार दुई विकेट लिएका थिए। टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाका ओपनर स्टिभ टेलर ४ रनमा र साइतेजा मुकामल्ला शून्यमा आउट भए।

त्यस्तै अमेरिकाका कप्तान आरोन जोन्स दुई रनमा र केन्जिगे पनि एक रनमा करणको सिकार बनेका थिए।

त्यसैगरी गुल्सन झाले ३ तथा दिपेन्द्र सिंह ऐरीले २ विकेट लिंदा सन्दीप भने लगातार दोस्रो खेलमा विकेटविहीन भए।

असार ५, २०८० मंगलबार १७:००:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।