बेलायत पाकिस्तानका ५ धनाढ्य सवार टाइटनिक हेर्न गएको पन्डुब्बी बेपत्ता

बेलायत पाकिस्तानका ५ धनाढ्य सवार टाइटनिक हेर्न गएको पन्डुब्बी बेपत्ता

टाइटनिक जहाज हेर्न गएको एउटा पनडुब्बी समुद्रमा बेपत्ता भएको छ। 

जसको अहिले खोजी भइरहेको छ। 

आइतबार डुबुल्की मारेको पनडुब्बीसँग सम्पर्कविच्छेद भएको र त्यसयता खोज्ने प्रयास भइरहेको बीबीसीले लेखेको छ। अमेरिकी कोस्ट गार्डका अनुसार गोताखोरीको एक घण्टा ४५ मिनेटपछि पनडुब्बीसँगको सम्पर्क टुटेको थियो।

टुर कम्पनी ओशनगेटको यो सानो पनडुब्बीमा पाँच जना सवार थिए। कम्पनीले पनडुब्बीको खोजीका लागि हरेक विकल्प प्रयोग गरिरहेको बताएको छ। 

हराइरहेकाहरूले आठदिने यो पर्यटकीय यात्राका लागि टिकटको मूल्य साढे दुई लाख डलर तिरेका बताइएको छ। यस भ्रमणको क्रममा पनडुब्बी टाइटानिक जहाजको भग्नावशेष नजिकै ३८ सय मिटर तल पुग्नुपर्ने हुन्छ। 

अधिकारीहरूका अनुसार सरकारी निकायहरू, अमेरिकी र क्यानाडाली नौसेनाहरू खोज अभियानमा संलग्न छन्।

टाइटानिकको भग्नावशेष उत्तर अमेरिकाको महासागरको सबैभन्दा नजिक रहेको क्यानडाको न्यूफाउन्डल्याण्डको सेन्ट जोन्सबाट ७०० किलोमिटर टाढा एट्लान्टिक महासागरमा छ।

यद्यपि यो पनडुब्बीको खोजी अभियान अमेरिकाको बोस्टनबाट चलिरहेको बीबीसीले लेखेको छ।

हराएको पनडुब्बी ओशन गेट कम्पनीको टाइटन सबमर्सिबल हो, जुन एउटा ट्रक जत्तिकै ठूलो छ र पाँच जना मानिस बोक्न सक्ने क्षमताको छ। सामान्यतया यो पनडुब्बीमा आपतकालीन अवस्थामा चार दिनसम्म अक्सिजन हुन्छ।

सोमबार दिउँसो अमेरिकी कोस्ट गार्ड रियर एडमिरल जोन माउगरले पत्रकार सम्मेलनमा भने, 'हामीले पनडुब्बी पत्ता लगाउन ७० घण्टादेखि ९६ घण्टासम्म समय लाग्ने अनुमान गरिरहेका छौं।' 

यस पनडुब्बीको खोजीमा दुई वटा विमान र एउटा पनडुब्बी र सोनारले सुसज्जित फ्लोटिंग बार्ज खटाइएको उनले बताए। तर, जुन क्षेत्रमा यो खोजी अभियान चलिरहेको छ त्यो क्षेत्र धेरै टाढा भएकाले अप्रेसनमा कठिनाइ भइरहेको पनि उनले बताए। 

टुर कम्पनी ओसियनगेटको पनडुब्बीमा बेलायत र पाकिस्तानका ५ जना धनाढ्यहरू सवार छन्।

असार ५, २०८० मंगलबार १६:०७:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।