बाढी पहिरोबाट हालसम्म १० जनाको मृत्यु, मृतकका परिवारलाई २ लाख राहत दिइने

बाढी पहिरोबाट हालसम्म १० जनाको मृत्यु, मृतकका परिवारलाई २ लाख राहत दिइने

काठमाडौं : गृहमन्त्री नारायणकाजी श्रेष्ठले हालसम्म बाढी र पहिरोबाट देशभर १० जनाको मृत्यु भएको बताएका छन्।

आज (मंगलबार) संसद्मा विपद्का घटना बारेमा जानकारी दिंदै श्रेष्ठले बाढी पहिरोले संखुवासवा, ताप्लेजुङ र पाँचथरमा बढी असर गरेको बताए।

‘जेठ २८ गतेबाट मनसुन प्रवेश गरेको छ। जसको असर पूर्वी पहाडी जिल्ला संखुवासवा, ताप्लेजुङ र पाँचथरमा बढी देखिएको छ। असार २ गतेको बाढी र पहिरो जस्ता विपद्का घटनाबाट हालसम्म १० जनाको मृत्यु, ६ जना घाइते र २६ जना वेपत्ता रहेको र ५४ घर पूर्ण रुपमा क्षति भएको जानकारी प्राप्त भएको छ,’ उनले भने।

साथै उनले बाढी पहिरो जस्ता विपद्मा ज्यान गुमाउनेको परिवारलाई २ लाख रुपैयाँ राहत दिने पनि घोषणा गरे।

‘परिवारमा १ जनाको मृत्यु भएमा २ लाख र सोही परिवारमा थप मानिसको मृत्यु भएमा प्रतिव्यक्ति थप एक/एक लाख राहत थप्ने व्यवस्था मिलाइएको छ,’ उनले भने।

साथै घरबार क्षति भएकालाई तत्काल राहतका लागि १५ देखि २० हजार दिइने पनि उनले बताए।

असार ५, २०८० मंगलबार १२:१३:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।