तनहुँमा पहिरोमा परेर घाइते भएका दुई मजदुरको मृत्यु

तनहुँमा पहिरोमा परेर घाइते भएका दुई मजदुरको मृत्यु

दमौली : तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा सोमबार साँझ पहिरोले पुरिएर घाइते भएका दुई जनाको मृत्यु भएको छ।

मुग्लिन पोखरा सडकखण्ड अन्तर्गत सडक छेउमा पर्खाल निर्माणका क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिएर तीन जना घाइते भएका थिए।

मृत्यु हुनेमा झापाको शिवशताक्षी नगरपालिका–७ बस्ने ३३ वर्षीय भीम भुजेल र उदयपुरको कटारी नगरपालिका–७ बस्ने ४० वर्षीय बल बहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

घाइतेमध्ये भीमको दमौली अस्पतालमा र बल बहादुरको पोखरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए। गम्भीर घाइते भई पोखरा पठाइएका बल बहादुरको राति मृत्यु भएको उनले बताए।

ढिस्कोले पुरिएर घाइते भएका झापाको शिवशताक्षी –७ बस्ने ४५ वर्षीय कृष्ण लिङ्देनको भने दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

असार ५, २०८० मंगलबार ११:३०:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।