हसरंगाको घातक बलिङसामू युएई १८० रनमै अलआउट, श्रीलंका १७५ रनले विजयी
काठमाडौ : एकदिवसीय विश्वकप छनोट अन्तर्गतको सोमबार भएको समूह ‘बी’ अन्तर्गतको खेलमा युएईविरुद्ध श्रीलंका १७५ रनले विजयी भएको छ।
३५६ रनको विशाल लक्ष्य पछ्याएको युएई वानिन्दु हसरंगाको घातक बलिङसामु ३९ ओभरमा १८० रन बनाउँदै अलआउट भएपछि श्रीलंकाले प्रतियोगिताको सुखद् सुरुवात गरेको हो।
युएईका मोहम्मद वसीम र अरविन्द्र भित्यले समान ३९ रन बनाए। अल नसीर ३४ रनमा आउट हुँदा रमीज साहजाद २६ र रोहन मुस्तफाले १२ रन बनाए। बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ वानिन्दु हसरंगा एक्लैले ६ विकेट लिए। ८ ओभर बलिङ गरेका उनले २४ रन मात्र दिए। यस्तै धनन्जय डि सिल्भा, लाहिरु कुमारा र महेश थीक्सानाले समान एक–एक विकेट लिए।
त्यसअघि बुलाभायोको क्विन्स स्पोर्टस्मा टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३५५ रन बनायो।
उसका लागि चार खेलाडीले अर्धशतकीय पारी खेले। कुशल मेन्डिसले ७८, सदीरा सामराविक्रमले ७३, पाथम निस्सान्काले ५७ र दिमुथ कुरुणरत्नेले ५२ रन बनाए।
यस्तै चरिथ असलन्का र वानिडू हसरङ्गाले क्रमशः २३ बलमा ४८ रन र १२ बलमा २३ रन बनाए।
युएईका अली नासीरले दुई तथा रोहन मुस्तफा, बसील अहमद, आयान अफ्जल खान र बसील हमीदले समान एक–एक विकेट लिए।
असार ४, २०८० सोमबार २०:२०:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।