सिंचाई विभागका तत्कालीन महानिर्देशक मधुकर दम्पत्तीविरुद्ध भ्रष्टाचार मुद्दा, तीन करोड अवैध आय भएको दाबी

सिंचाई विभागका तत्कालीन महानिर्देशक मधुकर दम्पत्तीविरुद्ध भ्रष्टाचार मुद्दा, तीन करोड अवैध आय भएको दाबी

काठमाडौं : जलस्रोत तथा सिंचाई विभागका तत्कालीन महानिर्देशक मधुकर प्रसाद राजभण्डारीविरुद्ध तीन करोड ५६ लाख भ्रष्टाचार गरेको अभियोग लागेको छ।

उनले महानिर्देशकका रूपमा सरकारी पदमा रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा अभियोग पत्र दर्ता गरेको हो।

अख्तियारले २०५१ फागुन ३० देखि २०७९ भदौ ३१ गतेसम्मको अनुसन्धानमा तीन करोड ५६ लाख ७० हजार तीन सय रूपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ।

वैधानिक आय पारिश्रमिक बचत आय, निजको श्रीमतीको पारिश्रमिक बचत आय, श्रीमतीको उपदान, दैनिक भ्रमण तथा स्थानीय भत्ता लगायतको आम्दानीको स्रोतभन्दा आय बढी देखिएको अख्तियारको दाबी छ।

तीन करोड ८५ लाख ५१ हजार वैधानिक आयको स्रोत खुल्न आएको जाँच अवधिमा निजको सम्पूर्ण व्यय सात करोड ४२ लाख २९ हजार ८६ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।

उनको वैधानिक आयलाई उनले गरेको व्ययसँग तुलना गर्दा आयभन्दा तीन करोड ५६ लाख ७७ हजारको वैधानिक स्रोत पुष्टि नभएको अख्तियारको दाबी छ।

अख्तियारले भनेको छ- ‘सार्वजनिक पद धारण गरेको राष्ट्रसेवक कर्मचारीले पदमा बहाल रहँदाका बखत अमिल्दो तथा अस्वभाविक सम्पत्ति आर्जन गर्नुका साथै मनासिब कारणबिना अमिल्दो र अस्वभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको छ।’

उनले स्रोत नखुल्ने सम्पत्ति श्रीमती दिपा श्रेष्ठको नाममा जग्गा, घर निर्माण, कम्पनी लगानी, बीमा प्रिमियम भुक्तानी लगायतमा काम गरेको अख्तियारको दाबी छ। सो सम्पत्ति जफत गर्न अख्तियारको माग छ।

असार ४, २०८० सोमबार १९:५२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।