बाढीपहिरोमा परी ६ जनाको मृत्यु, २९ जना बेपत्ता

बाढीपहिरोमा परी ६ जनाको मृत्यु, २९ जना बेपत्ता

काठमाडौं : अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवम् पहिरोमा परी सोमबार दिउँसोसम्म ६ जनाको मृत्यु भएको छ।

बाढी तथा पहिरोमा परी संखुवासभामा १ जना, ताप्लेजुङमा ३ जना, पाँचथरमा १ जना र नुवाकोटमा १ जना गरी जम्मा ६ जनाको मृत्यु भएको हो। जसमध्ये ५ जना पुरूष र १ जना बालिका रहेका छन्।

साथै बाढी एवम् पहिरोमा परी संखुवासभामा ३ जना, ताप्लेजुङमा २ जना र पाँचथरमा १ जना गरी जम्मा ६ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ।

बाढी पहिरोमा परी संखुवासभामा २१ जना, ताप्लेजुङमा ३ जना र पाँचथरमा ५ जना गरी जम्मा २९ जना वेपत्ता भएका छन्। वेपत्ताको खोजी कार्य जारी छ।

बाढी एवम् पहिरोको कारण ३५ वटा घर, १० वटा गोठ, १३ वटा पुल, ५ वटा उद्योग र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ६७ वटा पशु चौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्काा घटनाबाट ९७ घर परिवार विस्थापित भएका छन्।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने काम समेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध समेत प्रहरीले हटाउने कार्य गरिरहेको छ।

असार ४, २०८० सोमबार १९:१२:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।