प्रचण्ड, देउवा र ओलीलाई खाना खुवाएका सेफ रामको अनुभव : खानामा नेपालीजति सौखिन अरू देखिनँ

प्रचण्ड, देउवा र ओलीलाई खाना खुवाएका सेफ रामको अनुभव : खानामा नेपालीजति सौखिन अरू देखिनँ

छातीमा नामसहित सेतो पोशाक, सेतै टोपीमा सजिएका छन्, राम खड्का। सात वर्षदेखि एल्लो प्यागोडा होटेलमा सबैभन्दा हतारमा उनी नै देखिन्छन्। 

कसैलाई पनि आफ्नो खानाको कारण दुःखी बनाउन चाहँदैनन्। खाना खानेहरूको वरपर नै उनी डुलिरहेका हुन्छन्। 

ठमेल वरपरको करिब १५-१६ वटा होटल तथा रेस्टुरेन्टमा उनले काम गरिसके। यति धेरै ठाउँको अनुभव नभएको भए उनी सायदै 'सेतो पहिरन’भित्र अटाउने थिएनन्।

कपडाको चमकझैँ उज्यालो अनुहार लिएर भान्सामा देखिन्छन् उनी। 

ओखलढुंगाको दुर्गम ठाउँमा जन्मिए राम खड्का। गाउँका सबै काठमाडौँ गए। दसैँमा घर आउनेहरूलाई नयाँ र सफा कपडामा देख्दा दंग पर्थे उनी। कोसेलीसँगै काठमाडौँ बस्नेहरूको तारिफ सुन्थे। जसले उनमा काठमाडौँ जाने रहर जाग्थ्यो। 

अनि एसएलसी दिएपछि जसरी पनि काठमाडौँ जाने प्रण लिए। उनको घरबाट बसपार्क पुग्न नै दुई घण्टा हिँड्नुपर्थ्यो। बाबा आर्मी थिए, आमा घर व्यवहारसँगै खेतीपाती गर्थिन्। तर उनलाई कहिल्यै खेतीपाती गर्न मन लागेन। 

'मलाई त यहाँ आउन रहर लाग्यो। आमाबाले त नजा भनिरहनुभएको थियो,' काठमाडौँ आउँदाको क्षण सम्झिँदै उनले भने, 'एसएलसी पास पनि भएँ। अनि जे भए पनि यतै (काठमाडौँ) काम गर्छु भन्ने लाग्यो। त्यै भएर आफ्नो खुशीले यहाँ आएँ।’ 

काठमाडौँमा उनलाई आफन्तले काम पनि लगाइदिए। अनि वीर अस्पतालको पछाडि गल्लीमा भाँडा माझ्न थाले। 
केही दिन त उनले खुसी भएर काम गरे।

'पहाडमा बस्न मन नलागेर यहाँ आएको झन् दुःख भयो’, उनले ती दिन सम्झिए। 

भाँडा माझ्दा जब गाह्रो हुन्थ्यो तब उनी गाउँमा सफा लुगा लगाएर गएका मानिसहरू सम्झिन्थे र खुरुखुरु काम गर्थे। तीन महिना काम गर्दा उनले भाँडा माझ्नेसँगै समोसा र जेरी पकाउन पनि सिकिसकेका थिए। 

भाँडा माझेबापत उनले महिनाको चार सय रुपैयाँ कमाउँथे। 'यहाँ आउँदा सुरुमा त एकदमै दुःख भयो। घरमा त सुख पो रहेछ भन्ने लाग्यो। खान केही थिएन’, उनले सुनाए, 'काममा सुरुसुरुमा खान दिँदैन थियो। कति दिन त भोकै पनि काम गरेँ। फेरि कोठामा ओढ्ने, ओछ्याउने पनि थिएन। रत्नपार्कमा कालो रुवाँको सय रुपैयाँमा किनेको थिएँ, त्यै पनि भुइँको चिसोले सब डस्ना डल्लो पर्थ्यो।’

साना ठूला प्रायः सबै रेस्टुरेन्टमा काम गरे

तीन महिना त्यहाँ काम गरेपछि उनले लाजिम्पाटमा रहेको चाइनिज रेस्टुरेन्टमा काम पाए। काम भाँडा माझ्ने नै थियो। तर तलब महिनाको सात सय रुपैयाँ।

अनि काम गर्न थालेको २६ दिनमै प्रमोशन भएर त्यहीँको स्टाफका लागि खाना पकाउने काम पाए। खाना पकाउने काम उनलाई भाडा माझ्नेभन्दा सजिलो लाग्यो। अनि पैसा पनि थप दुई सय रुपैयाँ बढ्यो। 

त्यहीँ काम गर्दा हो उनले सेतो लुगा लगाएर खाना पकाइरहेको मान्छे देखेको। जसलाई 'सेफ’ भनिने गरेको पनि उनले त्यहीँ थाहा पाए। 

उक्त काममा अझ धेरै पैसा पाइन्छ भन्ने पनि उनले थाहा पाए। त्यसपछि उनलाई त्यही सेफ हुन मन लाग्यो। पछि रामले त्यही ठाउँमा किचेन हेल्पर काम गर्न पाए। अनि सेफसँग नजिकिन पाए।

'त्यहाँको मेन सेफचाहिँ कलकत्ताको रहेछ। त्यसबेला त सेफले नभनेसम्म केही छुन पनि पाइँदैन थ्यो। अहिले पो यसो हेर्छ। उल्टै सिकाउन खोज्छ। मैले सेफसँग सर, हजुर भनेर धेरै कुरा सिकेँ’, उनले भने। 

पछि त्यहाँ काम गर्दैगर्दा उनले कुकसम्बन्धी तालिम पनि लिए। दालभात तरकारी पकाएर त हात बसेकै थियो। तालिमले गर्दा उनको सीप थप निखारियो। 

तालिम सकेसँगै चाइनिज रेस्टुरेन्ट पनि उनले छाडे। अनि कुककै रूपमा काम गर्न थाले, होटल वैशालीमा। कुक हुँदा उनलाई चाहिने सबै सामान तयार भएर अगाडि रहेको देख्दा उनी खुसी हुन्थे। त्यहाँ उनले सुरुमा महिनाको २३ सय रुपैयाँसम्म कमाए। ठमेलका सानाठूला सबै होटेलमा उनले कुक भएरै काम गरे। आफूलाई अपडेट गर्दै लगे। स्वादहरूबारे पनि जानकार हुँदै गए। त्यसपछि भने उनले कहिल्यै भाँडा माझ्नुपरेन। 

त्यसपछि उनले पाँचतारे एभरेस्ट होटलमा काम गर्ने मौका पाए। दरबारमार्गमा रहेको ल्याण्डमार्ग होटलमा पनि काम गरे। ल्याण्डमार्गमा भने उनले 'सेफ डे पार्टीु भएर लगभग पाँच वर्ष काम गरे। अनि अपडेट हुने भन्दै त्यो छोडेर उनले ुसुस सेफ’को रूपमा ठमेलमै काम गरे। उनलाई त्यतिले पनि पुगेन। केही वर्ष काम गरेपछि भने धेरै ठूलो नभए पनि स–साना रेस्टुरेन्टतिर ुसेफ’कै रूपमा काम गर्न गए। 

'ड्याङ कि ड्याङ सेफ हुन थालेँ’

पछि उनले सबै होटल तथा रेस्टुरेन्टमा सेफ भएर काम गर्न थाले। पछि एल्लो प्यागोडा होटलमा ुसेफ’को डिमाण्ड आएको उनले थाहा पाए। 

'अनि सबै छोडेर यतै आएको’, उनले हास्दै सुनाए। उनले यहाँ दुई-तीन पटक सम्झौता नवीकरण गरिसकेका छन्। कामअनुसार तलब लिएको बताउने उनले यसबाहेक अन्त नसोचेको बताउँछन्। 

काठमाडौँ आउने बेलासम्म भने उनमा सेफ बन्ने कुनै इच्छा थिएन। तर, २१ वर्ष सानो ठूलो होटलमा काम गरेका उनले भाँडा माझ्नेदेखि सेफसम्मको यात्रा गरे। 

नेपाली मात्र हैन, इटालियन, इन्डियन, चाइनिज सबै खाले परिकार बनाउन सक्ने भइसकेका छन्। आफ्नो स्पेसल भनेर एउटा खाना मात्र नबनाए पनि चाइनिज रेस्टुरेन्टमा धेरै काम गरिसकेका छन्।

हरेक होटलमा काम गर्दा उनले खानामा दुई वटा मात्र भए पनि नेपाली खानाको परिकार भने राख्ने गर्छन्। उनका अनुसार विदेशीभन्दा नेपाली खानामा धेरै सौखिन छन्।

'नेपालीसँग प्रशस्त पैसा पनि देखेको छु। ठमेलको कुनै होटेलमा बेलुका हेर्नू त नेपालीले कति खर्च गर्छ’, उनले हास्दै भने', विदेशीले एउटा बियर किनेर बिस्तारै खाइराख्दा नेपालीले कति धेरै परिकार मगाइरहेको हुन्छ। खान पनि स्वाद स्वादको खोज्छन्। अनि पैसा पनि धेरै तिर्छन्।’

आफू अपडेट हुँदै जाँदा खानाका पारखीहरू पनि अपडेट भइरहेका उनलाई लाग्छ। पहिला धेरैले पिरो, अमिलो, चिल्लो, मसलेदार खान खोज्नेहरूले अहिले भने उसिनेको र उमालेका परिकार धेरै खोज्ने गरेका उनले भेटेका छन्। खानामा मान्छेहरू सचेत हुन थालेसँगै आफूलाई भने झन् सहज भएको उनलाई लाग्छ। 

चिनियाँ परिकार बनाउन भने उनलाई सबैभन्दा गाह्रो लाग्छ। तर कतिपय परिकार भने सजिलो पनि भएको उनी बताउँछन्। भन्छन्, ुचाइनिजमा काम गर्दा त छुरी पनि एकदम तिखो प्रयोग गर्नुपर्ने हुन्छ। सानो, चटचट काट्नुपर्ने हुन्छ। एकदमै छिटो बनाउनुपर्ने हुन्छ। अनि सजिलोचाहिँ पकाउन धेरै मिहेनत गर्नुपर्दैन। उमाले पुगिहाल्छ।’

राम थप्छन्, 'मान्छेको स्वादअनुसार काम गर्न एकदम गार्हो छ। किनभने स्वाद भनेको मुडअनुसार भर पर्ने रहेछ। कहिले ठ्याक्कै भनेजस्तो दिँदा पनि मन पराउँदैनन्। कहिले बिग्रियो कि भन्ने लाग्दा खुशी भएर गएका पनि छन्।’ 

आफूलाई दुबई, मलेसिया र  कतारबाट कामका लागि प्रस्ताव आएको उनी बताउँछन्। तर, बेलायत वा युरोपबाट अफर आए मात्र जाने सोचमा छन्। आफूले बनाएको खानाले चिनिन चाहन्छन् उनी।  

‘खानाले चिनिन चाहन्छु’

'फलानो होटेलमा राम खड्का सेफ रहेछ, त्यहाँ जाऊँ न भनेर आउनेसम्म बन्नु छ’, भन्छन्।

कहिलेकाहीँ भने स्वाद अनुसार खाना नबन्दा उनलाई दिक्क लाग्छ। त्यसबेला भने अर्कै काम गर्नुपर्छ कि क्या हो भन्ने पनि लाग्छ। तर, फेरि अर्को काम थाले सुरुबाटै गर्नुपर्ने भयले उनलाई सताउँछ र खानामै ध्यान दिन्छन्। अनि खाना खाएर गएकाहरू खुसी भएर गएका देख्दा मनमनै हर्षित हुन्छ। र जोश बटुलेर काममा लागिपर्छन्।  

एल्लो प्यागोडा होटलमा उनले 'एल्लो प्यागोडा स्पेसलु चिकेन राखेका छन्। यहाँ विभिन्न समारोहहरू पनि हुने भएकाले आफूले बनाएको खाना देशका ठुल्ठूला भनिने कलाकारहरू र प्रधानमन्त्रीहरूसम्मलाई खुवाउन पाउँदा उनी खुसी छन्। 

रामका अनुसार तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुन र शेरबहादुर देउवाले उसिनेका तरकारी बढी खान्छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्डुले रोस्ट चिकेन, ग्रिल चिकेन र बोइल भेज मन पराउँछन्। अनि केपी ओलीले भने कुरिलोको सुप मन पराउने उनले बताए। त्यसैगरी कलाकारहरूमध्ये राजेश हमाल र भुवन केसीले भने ’कन्टिनेन्टल’ खाना बढी रुचाउने उनले बताए। 

तत्काल आफ्नै रेस्टुरेन्ट बनाउने उनले योजना बनाइसकेका छैनन्। तर, बनाइहाले भने त्यसमा 'स्पेसल आइटम’ भने राख्ने उनले बताए।

जस्तैः केराको पकौडा, केराको छोइला, सबै केराकै। 'त्यसो गर्न मन छ। पछि गएर एउटा आफ्नै खोलेँ भने त्योचाहिँ म पक्कै कोशिस गर्छु। आफूलाई अपडेट गरिराख्न मन लाग्छ। हेरौँ के हुन्छ।’

एल्लो प्यागोडा होटलमा अहिले २७ जना कर्मचारी उनको अधीनमा छन्।  होटल व्यवस्थापन पढेका स–साना भाइबहिनीहरूलाई सिकाउन पाउँदा उनी आफैँ पनि उनीहरूबाट शैक्षिक पाटो भने सिक्ने गर्छन्।

सोह्रखुट्टेमा बसिरहेका उनको परिवारमा अहिले चार सदस्य छन्। परिवारमा पनि सबैलाई आफैले खाना बनाएर खुवाए पनि आफूलाई भने अरूले नै बनाएको खाना बढी मन गर्ने उनले बताए। 

असार ४, २०८० सोमबार १८:४९:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।