ओलीलाई उपेन्द्र यादवको आग्रह- मिडियामा बर्बराएको देख्यौं, तर्सिन पर्दैन

ओलीलाई उपेन्द्र यादवको आग्रह- मिडियामा बर्बराएको देख्यौं, तर्सिन पर्दैन

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा देखेर नतर्सिन आग्रह गरेका छन्।

मोर्चा घोषणा कार्यक्रममा पार्टी अध्यक्ष यादवले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै नबर्बराउन र नतर्सिन आग्रह गरेका हुन्।

‘मोर्चाका कारण कोही तर्सिनुपर्दैन, यो कोहीविरुद्ध लक्षित छैन,’  उनले भने, ‘धेरै मानिसहरू तर्सिएको देखियो। घोषणा हुनुअघि नै केही साथीहरू मिडियामा बर्बराइरहेको देख्यौँ। देशमा अग्रगमनका लागि हामी एक भएका हौं।’

केही दिनअघि एमाले अध्यक्ष ओलीले समाजवादी मोर्चा एमालेसँग मुकाबला गर्न र कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा बनाउन लागिएको बताएका थिए। मोर्चालाई बार्गेनिङको थलो बनाउन खोजेको उनको आरोप थियो।

जसपा अध्यक्ष यादवले मोर्चाले विगतमा भएका फुटको राजनीतिबाट सिक्दै गठन भएको भन्दै व्यवहारबाट त्यसलाई गतल सावित गर्ने बताए।

‘विगतमा छुट्टिएर बन्दै गरेका कारण पनि यस्तो आशंका हुनसक्छ,’ उनले थपे, ‘त्यसलाई व्यवहारबाट गलत साबित गर्दै वैचारिक राजनीतिक आधारमा निर्माण गरिएको मोर्चा हो।’

यस्तै, उनले प्रतिगमनकारी शक्तिहरूले संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त लागेको बताउँदै तिनीहरूको विरुद्धमा मोर्चा उभिने र आवश्यक परे संघर्षसमेत गर्ने उद्घोष गरे।

असार ४, २०८० सोमबार १७:३०:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।