पटक पटक बलात्कृत ११ वर्षीया बालिकाले स्कुल र समाजबाट पनि पाइनन् साथ, उपचार गर्न भारत लगियो
सुर्खेत: पटक पटक बलात्कारमा परेर मानसिक समस्या भोगेकी ११ वर्षीया बालिकालाई उपचारका लागि भारत लगिएको छ।
दिदीको कोठामा बसेर पढ्दै गरेकी जाजरकोटकी ११ वर्षीय बालिका ६४ वीरेन्द्रनगर ‘क १२’ (अदालतले परिवर्तन गरेको नाम) बलात्कृत भएकी थिइन्।
दुई पटक बलात्कृत भएकी बालिकामा मानसिक समस्या देखिएपछि उनलाई उनका बुवाले उपचारका लागि भारत लिएर गएका हुन्।
२०७८ भदौ ४ गते वीरेन्द्रनगर बसेर लोकसेवा तयारी गरिरहेका हुम्लाका २३ वर्षीय प्रकाश जैसीले सडक छेउको झाडीमा लगेर ती बालिकालाई बलात्कार गरेका थिए।
साँझ ७ बजेको समयमा साइँली दिदीको कोठाबाट ठूली दिदीको कोठामा जाँदै गर्दा उनी बाटोमै बलात्कृत भएकी थिइन्। जतिबेला उनी मात्र १० वर्षकी थिइन्।
२०७९ साउन ४ गते उनी दोस्रो पटक दिदीको कोठामै बलात्कृत भएकी थिइन्।
स्थानीय २१ वर्षीय मनन् सापकोटाले उनलाई बलात्कार गरेका थिए।
पहिलो पटक बलात्कार गर्ने जैसी कारागारमा छन्। जैसीकै साथमा रहेका अर्का २६ वर्षीय रामकृष्ण जैसी मतियार भएको भन्दै अदालतले तीन लाख धरौटीमा तीन महिनापछि छोडेको थियो।
११ महिनाको बीचमा दोस्रो पटक फरक–फरक व्यक्तिबाट बलात्कृत भएकी ती बालिकाको मुद्दालाई ‘होस्टायल’ गरेर पीडक सापकोटा धरौटीमा छुटेका छन्।
बलात्कार गर्ने सापकोटालाई अदालतले २०७९ चैत २२ गते एक लाख रूपैयाँ धरौटीमा छाड्यो भने उनको साथमा गएका २३ वर्षीय कृष्ण रिजाललाई मतियार भएको भन्दै २०७९ भदौ २२ गते ४५ हजार रुपैयाँ धरौटीमा जिल्ला अदालत सुर्खेतले तारेखमा छोडिसकेको छ।
समाज र विद्यालबाट समेत घृणा हुन थालेपछि उनी मानसिक समस्यामा परेकी उनकी दिदी ‘वीरेन्द्रनगर १२ ए’ (परिवर्तित नाम) ले बताइन्।
उनका अनुसार यही जेठ १० गते उनका बुवाले थप उपचारका लागि उनलाई भारत लिएका छन्। योसँगै उनको पढाइ पनि छुटेको दिदीले बताइन्।
‘समाजमा सबैले कुरा काटे, स्कुलमा समेत साथीहरूले जिस्क्याउन थालेपछि एकाएक कसैसँग नबोल्ने, एकान्तमा जाने जस्ता क्रियाकलाप गर्न थालिन्। अस्पताल लिएर डाक्टरलाई देखाउँदा मानसिक समस्या देखिएको भनेपछि बुवा आएर भारततिर लैजानुभयो’, पीडितकी दिदीले भनिन्, ‘स्कुलमा पनि राम्रोसँग पढिन, सरहरूले पनि अन्त पढाऊ, यहाँ पढ्न सक्दिनन् भने। बल्लतल्ल कक्षा ५ त पास गरी। भारत गएपछि अब पढाइ पनि छुट्यो।’
विपक्षी र उनका वकिलको जालझेलबाट मुद्दा ‘होस्टायल’ भएर पीडकहरू छुटेपछि घरपरिवारलाई समेत चिन्ता बढेको उनले बताइन्।
कानुनी प्रक्रिया नबुझ्दाको फाइदा पीडक पक्षले उठाएर अहिले बहिनीको भविष्य नै बर्वाद बनाइदिएको उनी बताउँछन्।
'अब न्याय पाउने आशासमेत मरिसक्यो, पहिला हामीले केही बुझेका थिएनौं। यही मौका छोपेर पीडक र उनका वकिलले लेनदेन कागजदेखि विभिन्न जालझेल गरे। अहिले बहिनीले न पढ्न पाई, नत इज्जतसाथ समाजमा बस्न नै ! उसको भविष्य नै बर्बाद भयो,’ उनले भनिन्।
पीडक पक्षले पीडिक बालिका र उनकी दिदीलाई विभिन्न प्रलोभन देखाएर बयान फेर्न लगाएका थिए।
यस क्रममा उनीहरूले ऋण दिएको लेनदेन कागज बनाएर 'दिउँसो बलात्कार गर्ने मानिस नचिनेको र राति आउनेले आफूलाई केही नगरेको' भनी बयान फेर्न लगाएका थिए।
फेरिएको उक्त बयानअनुसार मननहरू राति आएको दाबी पीडक पक्षले गर्दै आएको थियो। तर, दिउँसो र राति दुवै पटक आउने व्यक्तिहरू उनीहरू नै रहेको तथ्य उकेराले पाएको थियो।
ती किशोरीलाई प्रदेश अस्पताल सुर्खेतमा २०७९ साउन २८ गते गरिएको विस्तृत स्वास्थ्य परीक्षणमा ‘Hymen tear present with injury over perineum and mild bleeding with witish pv discharge’ भनी उल्लेख गरिएको थियो।
यो परीक्षणमा पीडित युवतीको कन्याजली च्यातिएको, हल्का चोट लागेको र हल्का रक्तस्राव भएको भन्ने देखाएको थियो।
खासगरी यस्ता घटनामा यही रिपोर्टलाई नै मुख्य कुरा मानिन्छ। बलात्कृत भएको हो/होइन भन्ने पहिलो कुरा यही रिपोर्ट नै महत्वपूर्ण रहने स्वास्थ्यकर्मीहरूले बताएका छन्।
यसबारे उकेराले निरन्तर फलोअप गर्दै आएको छ।
मिसिल संलग्न स्वास्थ्य परीक्षण, पीडित र जाहेरीको बयान, पीडकको बयानलगायत विभिन्न कागजात हेर्दा यो घटनामा पीडितलाई विभिन्न आश्वासन दिई, लेनदेनको कागज बनाई बयान फेर्न लगाएर यो मुद्दालाई कमजोर पार्न खोजिएको देखिन्छ।
११ वर्षीय बालिकासम्बन्धी थप सामग्रीः
असार ४, २०८० सोमबार १६:३६:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।