२२ करोड लगानीमा बुटवलमा बनेको पशु वधशाला संचालन अघि नै विवादमा, उपमहानगर र व्यवसायीबीच असहमति

२२ करोड लगानीमा बुटवलमा बनेको पशु वधशाला संचालन अघि नै विवादमा, उपमहानगर र व्यवसायीबीच असहमति

बुटवल : बुटवल उपमहानगरपालिकाले अत्याधुनिक पशु वधशाला सञ्चालनका लागि बोलपत्र आह्वान गरेसँगै विवाद सुरु भएको छ। यसअघि भएको मासु व्यवसायी र बुटवल उपमहानगरबीचको सहमतिको विपरीत गएर उपमहानगरले बोलपत्र आह्वान गरेपछि पशु वधशाला विवादमा परेको हो।

बुटवल उपमहानगरले आउने आर्थिक वर्षदेखि निर्माण सम्पन्न भएको अत्याधुनिक पशु वधशाला सञ्चालन गर्ने योजना अनुसार आइतबार मात्र बोलपत्र आह्वान गरेको थियो।

बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालि रुपन्देहीका अध्यक्ष कृष्णप्रसाद पौडेलले सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणा बमोजिम वधशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने गरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिइने गरि भएको सहमति विपरीत बोलपत्र आह्वान गरिएको बताए। साथै उनले आफूहरुलाई वेवास्ता गरेर उपमहानगरपालिका अघि बढ्न खोजेको बताए।

‘हिजो पशु वधशाला चाहिन्छ भनेर हामी लाग्यौ। निर्माण प्रक्रिया पनि सुरु भयो। एक प्रकारले हामीसँग सहमति पनि भएको अवस्थामा अहिले हामीलाई वेवास्ता गर्दै बोलपत्र आह्वान भएको छ। यसको हामीले खुलेर विरोध गर्छौ,’ उनले भने।

बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई वार्षिक ४७ लाख ३० हजार उपमहानगरपालिकालाई बुझाउने गरी वधशाला सञ्चालन गर्न दिने सहमति भए पनि अहिले एकतर्फी सहमति तोड्ने काम उपमहानगरपालिकाले गरेको अध्यक्ष पौडेलले बताए।

‘उपमहानगरपालिकाले यस अघि आह्वान गरेको बोलपत्रमा बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई सञ्चालनको स्वीकृति प्राप्त भयो। त्यसको अन्तिम टुङ्गो गत फागुनमा नगरपालिकाको वर्तमान नेतृत्व र प्रशासनिक निकाय समेतको सामूहिक छलफलमा भएको थियो। तर अहिले सहमति तोड्ने काम उपमहानगरपालिकाले गरेको छ,’ उनले भने।

उक्त सहमति पश्चात् आफूहरुले १ करोड ९० लाख रुपैयाँ धरौटी समेत जम्मा गरिसकेको अध्यक्ष पौडेलले बताए। किसानबाट रकम संकलन गरेर धरौटी रकम जम्मा गरेको अवस्थामा उपमहानगरपालिकाले अहिले एकतर्फी रुपमा सहमति तोडेर किसानलाई विच्काउन खोजेको उनको आरोप छ।

बुटवल उपमहानगरपालिका–१० रामनगरमा दुई बिघा तीन कट्ठा क्षेत्रफलमा निर्माण सम्पन्न वधशाला आगामी आर्थिक वर्षदेखि सञ्चालन गर्ने तयारी उपमहानगरपालिकाको छ।

उता बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले यस अघि सञ्चालनको प्रक्रियामा केही कानुनी त्रुटी फेला परेका कारण पहिलेको प्रक्रियालाई रद्द गरेर नयाँ बोलपत्र प्रक्रियामा लागिएको बताए।  

साथै उनले बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई सञ्चालनको जिम्मा दिने गरी भएको सहमतिमा उक्त कम्पनीलाई नियमनकारी निकायबाट व्यवसाय गर्ने अनुमति प्राप्त नभएका कारणले पहिलेको ठेक्का रद्द गर्नुपरेको उल्लेख गरे।

तर उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भने सार्वजनिक, निजी, सहकारी (उत्पादक) साझेदारी अवधारणा बमोजिम वधशालालाई व्यवस्थित रुपमा सञ्चालन गर्ने गरी बुटवल मासु उत्पादन तथा प्रशोधन प्रालिलाई जिम्मा दिइने बताएका थिए। ​​​​​​

२२ करोड लगानीको वधशालामा

बुटवलको पशु वधशाला २०७७ असारमा बुटवल उपमहानगरपालिका, लुम्बिनी प्रदेश सरकार र हेफर ईन्टरनेशलनको प्राविधिक सहयोगमा सुरु भएको छ। त्यो बेलाका नगरप्रमुख शिवराज सुवेदीले वधशालालाई यस क्षेत्रका ठूला बजारसँग ग्रामीण क्षेत्रलाई प्रत्यक्ष रुपमा जोड्ने नमुना परियोजनाका रुपमा अघि बढाएका थिए।

लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको ७ करोड, बुटवल उपमहानगरपालिकाको ३ करोड गरी  १० करोड बजेट विनियोजन गरी क्रमागत रुपमा बहुवर्षीय योजनाका रुपमा सुरु भएको वधशालाको कुल लागत २२ करोड १३ लाख रुपैयाँ छ।

वधशाला सञ्चालनमा आएपछि उपभोक्ताले स्वस्थकर मासु उपभोग गर्न पाउने मात्र नभएर किसानहरूका उत्पादनले उपयुक्त मूल्यसहित बजारीकरणमा सहजता हुने दोहोरो फाइदा हुने अपेक्षा गरिएको छ।

यस्तो हुनेछ वधशाला

वधशाला सञ्चालन पछि बुटवलमा हुने खुला पशु वध रोकिने बताइको छ। पशु वध गर्ने र त्यहाँ बायो डाइजेस्टर सञ्चालनमा ल्याउने योजना अघि बढाएको छ।

वधशाला पूर्ण रुपमा सञ्चालनमा आउँदा बजारको मागअनुसार एक हजार खसी बोका खपत हुने क्षमता वधशालाको छ। यस्तै, हरेक दिन दुई सय ५० खसी बोका चिस्यान गर्न सकिने र एक लाख २५ हजार लिटर फोहर पानी प्रतिदिन प्रशोधन हुने गरी वधशाला डिजाइन गरिएको छ।

साथै प्रतिदिन २.५ मेट्रिक टन क्षमताको बायो डाइजेस्टर सञ्चालनमा आउने प्राविधिक प्रतिवेदनमा उल्लेख छ। वधशाला सञ्चालनमा आउँदा करिब दुई हजार खसी बोकाका लागि आराम कक्ष, दुईवटा चिस्यान सुविधासहितका ट्रक, पशु स्वास्थ्य, मासु जाँच र गुणस्तर प्रमाणीकरण ल्याबको व्यवस्था समेत गरिएको छ।

त्यस्तै वधशालाबाट निस्कने फोहोरबाट बायो ग्यास निकाल्ने र त्यहाँ प्रयोग भएको पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी यसको डिजाइन गरिएको छ।

बुटवल उपमहानगरपालिकाले नगरसभाबाट पशु वधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ मा व्यवस्था भएअनुसार वधशाला सञ्चालनको तयारी अघि बढाइएको हो।

बुटवल वधशालामा करिब १२ हजार खसी बोका उत्पादक महिला किसानहरू र ३०० जना मासु व्यवसायीहरू सहभागी हुने दाबी गरिएको छ। रूपन्देहीमा दैनिक २०० खसी बोकाको मासु खपत हुँदै आएको आंकलन छ।

उपभोक्ता हित संरक्षण मञ्चका लुम्बिनी प्रदेश अध्यक्ष तेजकुमार पाठकले वधशाला सञ्चालनमा आएपछि यस क्षेत्र मासुको गुणस्तर र स्वच्छतामा नमुना क्षेत्र हुने बताए। मासु पसलले वधशालामा पुगेर मासु खरिद गरेर मात्र बिक्री गर्न पाउने उनले बताए।

बुटवल र यस आसपासका उपभोक्ताले वधशालाको आवश्यकता २०५५ सालमा नै महसुस गरि माग गर्दै आए पनि त्यसको साढे दुई दशकपछि मात्र वधशालाले पूर्णता पाएको हो।

असार ४, २०८० सोमबार १६:५२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।