बालेनको कारण सृजित अवस्थाले देशभर ‘आदिपुरुष’ को प्रदर्शन रोक्नुपर्यो : वितरक
काठमाडौं : ‘आदिपुरुष’ फिल्म नेपालमा वितरण गर्ने जिम्मा लिएको कम्पनी ब्यांकटेस फिल्म्सले सोमबारदेखि देशव्यापी रुपमा यसको प्रदर्शन रोक्ने निर्णय गरेको छ।
कम्पनीले एक विज्ञप्ति जारी गर्दै फिल्म रोक्ने निर्णय गरेको हो।
काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहले ‘जानकी भारतकी छोरी हुन्’ भन्ने आशयको संवाद मूल संस्करणबाट नहटाएसम्म महानगरभित्र कुनै पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएपछि देशभर ‘आदिपुरुष’को प्रदर्शन रोकिएको कम्पनीका निर्देशक मनोज राठीले बताए।
‘काठमाडौंमा चलचित्र प्रदर्शन रोकिएपछि सृजित अवस्थाका कारण हामीले देशभर प्रदर्शन रोक्ने निर्णय लिएका हौं,’ उनले भने।
काठमाडौं महानगर पश्चात् चलचित्र आदिपुरुषलाई पोखरा, धरान, वीरगञ्ज लगायतका सहरमा समेत स्थानीय निकायका प्रमुखले प्रदर्शन नगर्न निर्देशन दिइसकेका छन्।
काठमाडौंका मेयर बालेन शाहले काठमाडौं महानगरपालिका भित्र रहेका १७ वटा हलमा नगर प्रहरी खटाएको थियो।
फिल्ममा जानकी भारतकी छोरी भएको भन्ने संवादमा आपत्ति जनाउँदै मेयर बालेनले सच्याउन तीन दिनको समय दिएका थिए।
धरान उपमहानगरका मेयर हर्क साम्पाङले पनि फिल्म प्रदर्शन नगर्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत विवादित बनिरहेको भारतीय फिल्म ‘आदिपुरुष’लाई सुनसरीको धरान उपमहानगर भित्र प्रदर्शन नगर्न मेयर हर्क साम्पाङले आग्रह गरेका हुन् ।
पोखरा महानगरपालिकाले आइतबार नै फिल्म प्रदर्शन नगर्न आग्रह गरिसकेको छ। मेयर धनराज आचार्यले एक विज्ञप्ति जारी गर्दै फिल्म प्रदर्शन नगर्न आग्रह गरेका हुन्।
असार ४, २०८० सोमबार १५:३२:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।