‘आदिपुरुष’कै कारण गाली खाँदै दीपक, केदारसँग पनि नोकझोक
काठमाडौं : कलाकार दीपकराज गिरी समसामयिक विषयमा प्याच्च बोलिहाल्छन्। सामाजिक सञ्जालमा राजनीतिक, सामाजिक र अन्य विषयमा पनि आफ्ना अभिव्यक्ति राखिहाल्छन्।
सामाजिक सञ्जालको अभिव्यक्ति सबैलाई मन पर्नैपर्छ भन्ने कहाँ हुन्छ र? यस्तै भयो पछिल्लो समय उनले राखेको अभिव्यक्ति पनि।
आइतबार सामाजिक सञ्जाल दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ बाहेकका अन्य फिल्म बन्द गर्न नहुनेृ अभिव्यक्ति दिएपछि उनीमाथि गालीको वर्षा भइरहेको छ।
काठमाडौंमा हल सञ्चालकसमेत बन्न लागेका उनले व्यक्तिगत स्वार्थको लागि यस्तो अभिव्यक्ति दिएको भन्नेहरू पनि छन्।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले ‘आदिपुरुष’मा समावेश शब्द नहटाए कुनै पनि फिल्म महानगरभित्र चल्न नदिने चेतावनी दिएपछि गिरीको यस्तो अभिव्यक्ति आएको हो।
उनले भने, ‘समस्या आदिपुरूषले निकालेको हो त्यसैले आदिपुरुष मात्रै बन्द गरौ । उताबाट आउने सबै फिÞल्म बन्द गर्दा गलत अर्थ लाग्ला कि? उता बाट त धेरै कुरा आउछ।’
उनले यति मात्रै के लेखेका थिए, गाली गर्नेहरूले सुरू गरिहाले। उनको पोस्टमा आएका अधिकांश कमेन्ट गाली बर्सिएका छन्। उनले आफ्नो फाइदाको लागि यस्तो बोलेको भन्नेदेखि राष्ट्रघातीसमेत भन्न भ्याए।
यसरी गाली खाइरहँदा उनले सोमबार पनि अर्को पोस्ट लेखे र भने, ‘मैले खाएको छैन। शुभप्रभात।’
उनको यो पोस्टमा हास्यकलाकार केदारप्रसाद घिमिरे माग्नेबुढाले, ‘छिमेकी र बाउको झगडा परेको बेला छिमेकीलाई फाइदा पुग्नेगरी बोल्दा दाजुभाइको एकदुई मुक्का भेट्नु सामान्य कुरा हो।’
त्यसमा रिप्लाइ गर्दै दीपकले लेखेका छन्, ‘वाउ, मेरो भाइबाट अर्को पपुलिस्ट कमेन्ट आयो। स्टाटस नै लेख्या भए अझ बढी लाइक आउँथ्यो बाबु!’
सामाजिक सञ्जालमा देखिएको दीपक र केदारको यो नोकझोँकले उनीहरूले आगामी फिल्ममा हुने सहकार्यको विषयलाई लिएर समेत शंका पैदा भएको छ।
हुन त केदारले यसअघि नै एक कार्यक्रममा आफूले नयाँ फिल्म लेख्दै गरेको बताएका थिए।
असार ४, २०८० सोमबार १५:३१:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।