सिकल सेल नियन्त्रणका लागि विशेष अस्पताल निर्माण गर्ने मन्त्री मोदीको दाबी
बर्दिया : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीले सिकल सेल एनिमियाको न्यूनीकरण तथा नियन्त्रणका लागि विशेष अस्पताल निर्माणका लागि पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका छन्।
बर्दियाको राजापुर नगरपालिकाले आयोजना गरेको सिकल सेल दिवसलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन्।
‘थारु समुदायमा विकराल रुप लिनेगरी देखिएको सिकल सेलको उपचारका लागि एउटा विशेष अस्पतालको आवश्यकता छ भन्ने महसुस मलाई पनि भएको छ,’ मन्त्री मोदीले भने, ‘सिकल सेलको न्यूनीकरण र निर्मुलीकरणका लागि एउटा विशेष अस्पताल निर्माणका लागि पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्दछु।’
सिकल सेलको नियन्त्रणका लागि सबै तहका सरकारले प्राथमिकताका साथ कार्यक्रमहरु अगाडि बढाउनुपर्ने मन्त्री मोदीले बताए।
‘संघीय सरकारले सिकल सेल एनिमियाका बिरामीको उपचारका लागि केन्द्रहरू तोकेर एक लाखसम्मको उपचार निःशुल्क गर्ने व्यवस्था मिलाएको छ,’ उनले भने, ‘सिकल सेल एनिमिया रोग थारू समुदायका लागि ठूलै जनस्वास्थ्य समस्या हो।’
मन्त्री मोदीले समुदायमा आधारित जाँच, नियमित उपचार, स्थानीयस्तरमा परीक्षण प्रयोगशाला र स्थानीय पाठ्यक्रम निर्माण र पठनपाठनजस्ता कार्य विस्तार गरेर सिकल सेल एनिमियाको बारेमा जनचेतना बढाउन आवश्यक रहेको समेत बताए।
राजापुर नगरपालिकाले सिकल सेल एनिमियाको नियन्त्रणका लागि जनचेतना जगाउने र नगरभित्रका नागरिकमा सिकल जाँच गर्ने उद्देश्यले पहिलोपटक दिवसको आयोजना गरेको हो। सिकल सेल दिवसमा झण्डै १४ सय जना बिरामीको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधी वितरण गरिनेछ।
असार ४, २०८० सोमबार १४:१३:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।