‘बर्खा सुरु भइसक्यो, विपद् सोधेर आउँदैन’ भन्दै सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

‘बर्खा सुरु भइसक्यो, विपद् सोधेर आउँदैन’ भन्दै सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं : सांसदहरुले विपद् थाहा दिएर नआउँदै भन्दै जोखिम न्यूनीकरणका लागि पूर्व तयारीलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसदहरुले जोखिमयुक्त वस्ती पहिचान गरेर सुरक्षित स्थानमा स्थानान्तरण गरिनुपर्ने बताए।

उनीहरुले प्रकोपबाट हुने क्षतिको न्यूनीकरणका लागि प्रभावकारी कार्ययोजना निर्माण तथा प्रकोपमा परेको व्यक्तिको उद्धार, राहत र क्षतिग्रस्त संरचनाको पुनः निर्माणको योजना बनाउन सरकारको ध्यानाकर्षण गराए। 

 सांसद मनिष झाले पहाडका जिल्लाका नागरिकमा प्राकृतिक प्रकोपमा परेर मरिन्छ कि भन्ने त्रास देखिएको भन्दै असुरक्षित स्थानमा रहेका वस्ती पहिचान गरेर स्थानान्तरण गरिनुपर्ने बताए।

‘बाढीपहिरोका कारण आज पहाड जोखिममा छ, भोलि बाढीबाट तराई मधेस जोखिममा हुन्छ, तर हामीले विपद् न्यूनीकरण, उद्धार तथा राहत वितरणका सम्बन्धमा सरकारको तयारी थाहा पाएका छैनौं,’ उनले भने।

सांसद मानवीर राईले पूर्वी नेपालमा बाढी पहिरोले धनजनको क्षति पुर्याइरहेका सन्दर्भमा सरकारले सदनलाई जानकारी गराउनुपर्ने बताए।

सांसद मनबहादुर गुरुङले कास्कीको मादी र सेती नदीको जलाधार क्षेत्र तथा हिमतालमा अनुगमन गर्ने, पूर्वसूचना दिने र पूर्वसतर्कता अपनाउने काम तत्काल गर्नुपर्ने बताए।

‘वर्षा सुरु भइसक्यो, विपद् सोधेर आउँदैन, थाहा दिएर आउँदैन, हिजो राति मात्र ताप्लेजुङ, सङ्खुवासभा लगायत पूर्वी पहाडी क्षेत्रमा मात्रै ठूलो विपदका घटना भएका छन्, आगामी दिनमा विगतका जस्तै विपद्का घटना पुनरावृत्ति हुने सम्भावना प्रबल छ, यतातर्फ सरकारले ध्यान दिनुपर्छ,’ उनले भने।

सांसद राजेन्द्र केसीले भने, ‘समय हुँदा सुत्ने, भोलि अप्ठ्यारो पर्दा काम गर्नुपर्ने हुँदा अहिले नै सोच्नुपर्छ, यसतर्फ सरकारको ध्यान जाओस्।’

सांसद भानुभक्त जोशीले सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा प्राकृतिक प्रकोपका हिसाबले धेरै जोखिमयुक्त भूभाग रहेको जनाउँदै जोखिममा रहेका वस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरणमा सरकारको ध्यानाकर्षण गराए।

असार ४, २०८० सोमबार १३:५१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।