बाढीपहिरो अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो

बाढीपहिरो अपडेट : मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौं : पूर्वी नेपालको कोशी प्रदेशमा बाढी पहिरोका कारण ज्यान गुमाउनेको संख्या आठ पुगेको छ।

कोशी प्रदेशको पहाडी भू-भागमा गएको बाढी पहिरोमा परेर गत शनिबारदेखि हालसम्म आठ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता छन्। 

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतका सुरक्षा निकाय र स्थानीयको सहयोगमा हराइरहेकाहरुको खोजी तथा उद्धार जारी छ।

अहिले पनि पानी पर्ने क्रम नरोकिएकाले खोजी तथा उद्धार कार्य प्रभावित भएको सुरक्षा निकायले जनाएका छन्।

हालसम्म ताप्लेजुङमा ३, पाँचथरमा २ र भोजपुर तथा संखुवासभामा एक/एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  मृत्यु हुनेमा ५ पुरुष, २ महिला एक बालक रहेका छन्।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ताप्लेजुङ फिदिङ्वा-६ का ३० वर्षीय गणेश तामाङ, ६७ वर्षीय केशर राई र ३६ वर्षीय सुरेश राई छन्।

त्यसैगरी संखुवासभाको पाँचखपन-९ का २६ वर्षीय सन्तोष राई, पाँचथर फालेलुङ- ४ का ८ वर्षीय जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू र भोजपुर ट्याम्केमयुम-८ का ३२ वर्षीय मन्दीप राईले पनि ज्यान गुमाएका छन्।

असार ४, २०८० सोमबार १३:२१:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।