गाडी जोगाउन खोज्दा ताप्लेजुङमा पहिरोले बाबु छोरा कै ज्यान लियो

गाडी जोगाउन खोज्दा ताप्लेजुङमा पहिरोले बाबु छोरा कै ज्यान लियो
तस्बिर : राम चन्द्र न्यौपाने

ताप्लेजुङ : ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा आज बिहान गएको पहिरोमा गाडी जोगाउन खोज्दा पुरिएर बाबु छोरा कै ज्यान गएको छ।

पहिरोमा परी बेपत्ता भएका बाबु केशरबहादुर राईको शव फेला परेको छ भने पहिरोमा परी घाइते भएका सुरेश राईको पनि मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवं प्रहरी निरीक्षक कुसराम कार्कीले मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी राई परिवारका छोराको मृत्यु र बाबु बेपत्ता भएको बताएका थिए।

पछि बाबु केशरबहादुर राईको पनि शव फेला परेको हो।

पहिरोका कारण आफू बस्ने घर जोखिममा भएपछि गाडी अन्यत्रै सार्ने तयारीका क्रममा अचानक खसेको पहिरोले तीन जना पुरिएका थिए। जसमध्ये सुरेश र राजकुमारको तत्काल उद्धार गरिएको थियो भने केशरबहादुर बेपत्ता भएका थिए।

स्थानीय कला कडरियाका अनुसार घाइते भएका अर्का राजकुमार राईको अवस्था पनि गम्भीर छ। उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि अन्यत्रै लैजाने तयारी भइरहेको छ। 

मेहेलेको अधिकांश क्षेत्र पहिरोको उच्च जोखिममा छन्। मेहेलेमा शनिबार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता छन्। मेहेलेमा पहिरोले ६ घरलाई बगाएको छ।

असार ४, २०८० सोमबार ११:५२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।