करणी सेनाका अध्यक्षले भने, 'आदिपुरुषका निर्देशक र कलाकारलाई जहाँ भेट्यो त्यहीँ थप्पड हान्नुस्'

करणी सेनाका अध्यक्षले भने, 'आदिपुरुषका निर्देशक र कलाकारलाई जहाँ भेट्यो त्यहीँ थप्पड हान्नुस्'

विवादित दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ को दृश्य र संवादलाई लिएर नेपालमा मात्र हैन, भारतमा पनि तनावको अवस्था सिर्जना गरिरहेको छ। 

भारतको मध्य प्रदेशमा पनि विरोध भइरहेको छ। फिल्मको दृश्यलाई लिएर करणी सेनाका राष्ट्रिय अध्यक्षले धार्मिक ग्रन्थको अवहेलना सह्य नहुने बताएका छन्। उनले फिल्मका निर्देशक खोजेर थप्पड हान्न जोकोहीलाई अनुरोध गरेा छन्।

उनले फिल्मका हरेक पात्रलाई थप्पड हान्नुपर्ने बताएका छन्।

क्षत्रीय करणी सेनाका राष्ट्रिय अध्यक्ष राज शेखावतले आइतबार राजगढको बिओरामा पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन्।   

उनले चलचित्र ‘आदिपुरुष’मा धार्मिक ग्रन्थको बेवास्ता गरिएको आरोप लगाए। हिन्दु देवताहरूको लुगामा पनि गल्ती भएको उनको भनाइ छ। फिल्मका संवादहरू असह्य भएका भन्दै शेखावतले करणी सेनाले यी मानिसहरूलाई मार्नेसम्मको चेतावनी दिएका छन्। 

यता आनन्द सागरको रामायण सिरियलमा हनुमानको भूमिका निभाएका विक्रम मस्तालले भोपालमा फिल्मलाई लिएर कानुनी कारबाही गर्ने बताएका छन्।  

'करणी सैनिक २२ राज्यमा छन्। हामीले मुम्बईका कामदारहरूलाई निर्देशकलाई खोजेर पिट्न निर्देशन पनि दिएका छौं। आजका युवाहरूले जे देख्छन् त्यही सिक्नेछन्। धार्मिक ग्रन्थ र देवतामाथि किन फिल्म बनाउनुहुन्छ ? फिल्म बनाउनुपर्छ भने सत्य के हो देखाऊ। हाम्रा धार्मिक ग्रन्थहरूमा मनोरञ्जन नगर्नुहोस्।' शेखावतले भने। 

उनले थपे, 'फिल्मका निर्देशकले हिन्दुबाहेक अरू धर्ममाथि फिल्म किन बनाउँदैनन् ? किनकि उनीहरूलाई थाहा छ हिन्दुहरू कहिल्यै विरोध गर्दैनन् तर अहिले समय बदलिएको छ। फिल्ममा रहेका सबैलाई थप्पड हिर्काइनेछ। आगामी दिनमा यस्तो फिल्म कसैले नबनाऔं भन्ने सन्देश चलचित्रकर्मीलाई दिइनेछ।'

असार ४, २०८० सोमबार ११:४४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।