विप्लव अटाएको समाजवादी मोर्चामा बाबुराम भट्टराईको पार्टी अटेन

विप्लव अटाएको समाजवादी मोर्चामा बाबुराम भट्टराईको पार्टी अटेन

काठमाडौँः आज अपराह्न घोषणा हुने भनिएको समाजवादी मोर्चामा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) सहभागी नहुने भएको छ।  

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित समाजवादी मोर्चा आज घोषणा हुने कार्यक्रम तय भएको छ।  

उक्त चारदलीय मोर्चाबन्दीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. भट्टराईको पार्टी सहभागी हुनेसक्ने बताइएको थियो। 

तर आज दिउँसो कमलादीमा हुने घोषणामा नेसपा सहभागी नहुने पार्टीका नेता विश्वदीप पाण्डेले उकेरासँग बताए। 

मोर्चाको लक्ष्य, उद्देश्य र कार्यक्रमबारे हामीसँग कसैले पनि केही छलफल गरेका छैनन्, छलफल नै नभएको अवस्थामा कथित समाजवादी मोर्चामा नेसपा सहभागी हुने कुरा भएन,' पाण्डेले भने। 

आइतबार बसेको चार दलको बैठकले समाजवादी मोर्चाको साझा मुद्दा, लक्ष्य, उद्देश्य र प्राथमिकतासहित प्रतिबद्धता तय गरेको थियो। 

आलोपालो मोर्चाको नेतृत्व गर्ने  र निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरुप हुने सहमति गरिएको बताइएको छ। 

यसैगरी, मोर्चामा सहभागी हुने सदस्य दलका अध्यक्षसहित एउटा संयोजन समिति हुने र त्यसले आवश्यकताअनुसार उपसमितिहरू बनाएर अन्य दलहरूलाई पनि सहभागी गराउने निर्णय भएको जनाइएको छ।

मोर्चा घोषणामा सहभागी हुन दलहरूले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरेका छन्। 

असार ४, २०८० सोमबार ११:२७:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।