ताप्लेजुङ पहिरोः छोराको मृत्यु, बाबु बेपत्ता, ओढारमा अलपत्र तीन जना सम्पर्कविहीन

ताप्लेजुङ पहिरोः छोराको मृत्यु, बाबु बेपत्ता, ओढारमा अलपत्र तीन जना सम्पर्कविहीन

ताप्लेजुङ : सिदिङवा गाउँपालिका-६ मेहेलेमा पहिरोमा परी छोराको मृत्यु भएको छ भने बाबु बेपत्ता भएका छन्।

आज बिहान गएको पहिरोमा परी मेहेलेका ३६ वर्षीय सुरेश राईको मृत्यु भएको हो। सुरेशका बाबु ६७ वर्षीय वृद्ध केशरबहादुर  बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना समन्वय अधिकारी एवं प्रहरी निरीक्षक कुसराम कार्कीले मेहेलेको मुकुभञ्ज्याङमा गएको पहिरोमा परी राई परिवारका छोराको मृत्यु र बाबु बेपत्ता भएका बताए। 

त्यस्तै सोही पहिरोमा परी ४५ वर्षीय राजकुमार राई गम्भीर घाइते भएका प्रहरी निरीक्षक कार्कीले जानकारी दिए। 

निरन्तर वर्षा भइरहेकाले बेपत्ताको खोजीमा समस्या भएको छ। घाइतेलाई अस्पताल लैजान पनि कठिन भएको छ। 

यसैबीच ताप्लेजुङको सिदिङवामा बाढीले याक्सा बगाएर ओढारमा अलपत्र रहेका तीन जना अहिले सम्पर्कविहीन भएका छन्।

बाढी पहिरोका कारणले ओढारमा बसेका सिदिङवा गाउँपालिका–७ सुरुमखिमका २३ वर्षीय डेनिस गुरुङ, अनिता राई र उनीहरूका अढाइ वर्षकी छोरी सम्पर्कविहीन भएका हुन्।

निरन्तर वर्षासँगै बाढी पहिरोले उनीहरू बसेको याक्सा (गोठ) छेउमा पहिरो गएपछि ओढारमा बसेका थिए। गत सोमबार घरदेखि झन्डै एकदिनको पैदलमा रहेको गाग्रे भन्ने स्थानमा उनीहरू आलु खन्न र मकै गोड्न गएका थिए।

बसेको याक्साको छेउबाट पहिरो गएपछि उनीहरू ओढारमा बस्नुपरेको सिदिङवा गाउँपालिका–७ सुरुङखिका वडाध्यक्ष लक्ष्मण तामाङले बताए। 

वडाध्यक्ष तामाङका अनुसार उनीहरू बसेको ओढारको तीनतिर खोला छन्। कुलिङ खोला, पाङदा खोला र तावा खोलाको बीचमा रहेकाले उद्धार गर्न जानसमेत समस्या रहेको उनले बताए। 

'बाढीसँगै आएको खोला घटेको छैन। खोला तरेर जाने सम्भव छैन। पानी केही छिन रोकिने र केही छिनमै पर्ने क्रम चलिरहेको छ,' तामाङले भने। 

सुरुङखिम गाउँदेखि करिब चार घण्टा लाग्ने भएकाले खोला तरेर जना समस्या भएको तामाङको भनाइ छ। आज पनि स्थानीय र प्रहरी उद्धारको लागि तयारी अवस्थामा रहे पनि  खोला तरेर जान समस्या भएको अध्यक्ष तामाङले बताए। 

उद्धारका लागि आइतबारै नेपाली सेनाको हेलिकप्टर ताप्लेजुङ आए पनि मौसम प्रतिकूलताका कारण उद्धार हुन सकेको छैन। आज बिहान नेपाली सेनाको हेलिकप्टर काठमाडौँदेखि ताप्लेजुङ प्रस्थान गर्ने तयारी भइरहेको ताप्लेजुङबाट निर्वाचित सांसद योगेशकुमार भट्टराईले जनाकारी दिएका छन्। 

असार ४, २०८० सोमबार ११:०३:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।