'भारतकी बेटी' संवाद राखेर गल्ती नगरेको 'आदिपुरुष' निर्माण टिमको कुतर्क

'भारतकी बेटी' संवाद राखेर गल्ती नगरेको 'आदिपुरुष' निर्माण टिमको कुतर्क

दक्षिण भारतीय फिल्म 'आदिपुरुष' को निर्माता टिमले फिल्मले नेपालीको भावनामा ठेस पुग्ने आफूहरूको उद्देश्य नभएको बताएको छ। 

फिल्मको निर्माता कम्पनी सुपर क्यासेट्स इन्डस्ट्रिज लिमिटेडले एक विज्ञप्ति जारी गर्दै फिल्मको डाइलगबाट नेपाली भावनामा ठेस पुर्याउने आफ्नो उद्देश्य नभएको लेखेको हो।

पत्रमा लेखिएको छ- सुरुमा हामी नेपाली जनताको भावनामा कुनै किसिमले चोट पुर्याएको भए माफी चाहन्छौं। यो जानाजानी वा कसैका लागि भनिएको थिएन।'

त्यस्तै फिल्ममा राखिएको राघवको चरित्रलाई चित्रण गर्दै श्री फिल्ममा प्रभास (राम) ले बोलेको संवादले सीताको भूमि कुन हो भन्ने विवाद नल्याएको दाबी गरिएको छ। लेखिएको छ- 'बरु भारतीय भएको नाताले संसारभरका महिलाको सम्मान हाम्रा लागि अति महत्त्वपूर्ण छ।'

‘श्री राघवको चरित्र निर्वाह गरेका प्रभाशले बोलेको सम्वाद ‘आज मेरे लिए मत लड्ना, उस दिनके लिए लड्ना जब भारतके किसी बेटीपर हाथ डालने से पहले दुराचारी तुम्हारा पौरुष याद करके थर्र उठेगा’ले सीताको माताको जन्मस्थानको प्रतिनिधित्व गर्दैन,’ पत्रमा लेखिएको छ। 

 पत्रमा 'भारतके किसी बेटीपर' उल्लेख गरिएको छ। तर उक्त शब्दले सीता भारतकै भएकी अर्थ लाग्छ। फिल्ममा सीता भारतमा जन्मिएको संवादलाई उस्तै उतारेर पत्रमा उल्लेख गरे पनि निर्माण कम्पनीले आफूहरूको गल्ती नभएको दाबी गरिरहेको छ। 

असार ४, २०८० सोमबार १०:०६:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।