मर्मत गरेको १५ दिनमै बिग्रियो ‘डायलासिस’ उपकरण

मर्मत गरेको १५ दिनमै बिग्रियो ‘डायलासिस’ उपकरण

तनहुँ : दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रको ‘डायलासिस’ उपकरण मर्मतको १५ दिनमै फेरि बिग्रिएको छ।

यसअघि गत जेठ १५ गते पाँच उपकरण मर्मत गरी सञ्चालनमा ल्याइएको थियो। 

वैशाखदेखि उक्त उपकरण बिग्रिएर बसेको थियो। राष्ट्रिय मिर्गौला उपचार केन्द्रका प्राविधिक आएर उपकरण मर्मत गरिदिए पनि फेरि समस्या आएको दमौली अस्पताल मिर्गौला केन्द्रका प्रमुख शैलेन्द्र पण्डितले जानकारी दिए। 

उनले भने, 'बल्ल बल्ल उपकरण बनेको थियो, फेरि समस्या आएर बिग्रियो। अहिले चार वटा मात्रै उपकरण सञ्चालनमा छ।” पाँच  मर्मतसहित यसअघि नौ वटा उपकरण सञ्चालनमा रहेकामा अब चार वटा उपकरणबाट मात्रै सेवा प्रवाह भइरहेको केन्द्र प्रमुख पण्डितले जानकारी दिए। 

उपकरण थोरै हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या हुने गरेको छ। स्वास्थ्य मन्त्रालयले दमौली अस्पताललाई दुई  नयाँ उपकरण पठाएको छ। प्रदेश सरकारमार्फत दमौली अस्पतालमा दुई  उपकरण आइपुगे पनि जडान हुन बाँकी छ। 

चार उपकरण सञ्चालनमा हुँदा दैनिक १६ जनाले मात्रै सेवा पाउने अवस्था रहेको छ। केन्द्रले दैनिक बिहान ७ बजेदेखि राति ११ बजेसम्म डायलासिस सेवा सञ्चालन गरेको छ। 

केन्द्रमा हाल डायलासिस सेवा लिने कूल सङ्ख्या ५० जना रहेका छन् तर अझै ३०  मिर्गौला पीडित डायलासिसका लागि पालो पर्खिदै छन्।

तनहुँका विभिन्न ठाउँका मिर्गौला पीडितले मिर्गौला उपचार केन्द्रमा डायलासिसका लागि नाम टिपाएर पालो पर्खिरहेका छन्। नियमित रुपमा डायलासिस गराउनुपर्ने उनीहरूले हाल पोखरामा डायलासिस गरिरहेका छन्। 

असार ४, २०८० सोमबार ०८:४२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।