मिटर बक्सबाट सल्किएको आगोले घर जल्दा ३२ लाखको क्षति

मिटर बक्सबाट सल्किएको आगोले घर जल्दा ३२ लाखको क्षति

खोटाङ : विद्युत्को मिटरबक्सबाट सल्किएको आगोले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-११ खार्मीस्थित नयाँबस्तीका मानबहादुर मगरको घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। 

घरमा वृद्धावस्थाकी श्रीमती मात्रै रहेको समयमा आज दिउँसो भएको आगलागीमा मगरको जस्तापाताको छाना भएको तीन तले घर, नगद रु ५० हजार, तीन तोला सुन, ११ तोला चाँदी, अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, काठपातलगायत धनमाल पूर्ण रूपमा जलेर नष्ट भएको हो। 

ढुङ्गा/माटोले बनेको जस्तापानाको छाना रहेको मगर परिवारको घरमा भएको आगलागीमा ३२ लाखभन्दा बढीको धनमाल पूर्ण रूपमा जलेर क्षति भएको घटनास्थलमा पुगेका प्रहरी चौकी तालकर्खका प्रमुख प्रहरी सहायक निरीक्षक शिव निरौलाले जानकारी दिएका छन्।

मगर घरमा भएको आगलागीको घटना दिउँसोको समयमा भएकाले मानवीय क्षति भने हुनबाट जोगिएको प्रहरीले जनाएको छ। 

मगरको घरमा लागेको आगो साँझ ७ बजेतिर मात्र नियन्त्रणमा लिन सफल भएको खार्मीका वडाध्यक्ष ईखबहादुर राईले जानकारी दिए।

'दिउँसो करिब दुई बजेको समयमा मिटरबक्सबाट आगो लाग्न सुरु भएको रहेछ, छरछिमेक जम्मा हुँदा आधाजति जलिसकेको थियो', उनले भने, 'दन्किरहेको आगो तत्कालै नियन्त्रण गर्ने कुनै उपकरण थिएन। घरायसी उपकरण प्रयोग गरेर तत्कालै नियन्त्रण गर्न नसक्दा ठूलो क्षति भयो।'

दिक्तेल–खार्मी–बास्पानी–बाक्सिला सडकखण्डको बाँझोबारीस्थित नयाँबस्तीका मगरको घरमा लागेको आगो करिब पाँच घण्टापछि मात्र नियन्त्रणमा लिन सफल भएको स्थानीय समाजसेवी हर्कराज राईले जानकारी दिए।

घरमा भएको आगलागी नियन्त्रणका लागि स्थानीय बासिन्दा तथा प्रहरी चौकी तालखर्कका टोली पानीको गाग्री तथा घरेलु औजार हातमा लिएर घटनास्थल पुगेका थिए। 

असार ३, २०८० आइतबार २१:४२:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।