उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेविरुद्ध सरकारले मुद्दा नचलाउने

उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्नेविरुद्ध सरकारले मुद्दा नचलाउने

काठमाडौँः त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गरेको आरोप लागेकाहरूमाथि महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने भएको छ। 

चलाउनेमाथि २०७७ असोज २० गते त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावललगायतले कुटपिट गरेको आरोप लागेको थियो।  

जिल्ला सरकारी वकिल काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार उनीहरूलाई मुद्दा नचलाउने निर्णय भएको पत्र महान्यायाधिवक्ता कार्यालयबाट आज आएको हो।

'रावल र आचार्यविरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत जिल्ला अदालतमा विचाराधीन थियो। आज मुद्दा नचलाउने भनी निर्णय आयो। असार ५ गते यो विषयमा जिल्ला अदालतमा बहस हुन्छ', न्यौपानेले भने। 

उता उपप्राध्यापक चलाउने भने सरकारको यो निर्णयविरुद्ध भोलिदेखि नै आमरण अनसन बस्ने जनाएका छन्। 

उकेरासँगको छोटो कुराकानीमा उनले भने, 'म राज्य व्यवस्थासँग लडेर थाकिसकेँ। ३ वर्ष भयो यो मुद्दा चलेको। किनारा लाग्नु त परको कुरा, उल्टो सरकारले मुद्दा नचलाउने निर्णय गर्यो। कसरी कानुनी राज्यको धज्जी उडाइन्छ। अपराधलाई राजनीतीकरण कसरी गरिन्छ, भोलिदेखि आमरण अनसन बस्दैछु।'

असार ३, २०८० आइतबार २१:२२:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।