वीर र ट्रमामा देखिएको अनियमितताको प्रतिवेदन सतर्कताले पठायो अख्तियारमा

वीर र ट्रमामा देखिएको अनियमितताको प्रतिवेदन सतर्कताले पठायो अख्तियारमा

काठमाडौंः राष्ट्रिय सतर्कता केन्द्रले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा भएको अनियमिताबारे कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा छानबिन प्रतिवेदन पठाएको छ। 

सतर्कता स्रोतका अनुसार २०७९ माघ २९ गतेको सतर्कताको बैठकले निर्णय गरी अख्तियारमा प्रतिवेदन पठाएको हो। ‘माघ २९ को निर्णय हो,’स्रोतले भन्यो,‘अख्तियारमा यो निर्णय त्यतिखेरै गएको हो।’ 

केन्द्रले २०७५ र २०७६ को विभिन्न समयमा परेका उजुरीका आधारमा ट्रमा सेन्टर र वीर अस्पतालमा भएका अनियमितताका विषयमा छानबिन गरी प्रतिवेदन तयार पारेर सो प्रतिवेदन अख्तियारमा पठाएको हो।

ट्रमा सेन्टर र वीर अस्पतालमा भएका अनियमितता, वीर अस्पतालको निर्देशकले गरेको अनियमितता, नियमविपरीत कर्मचारी भर्ना गरेको लगायत व्यहोराका उजुरीहरूको विषयमा छानबिन गरी प्रतिवेदन पेश गर्न सतर्कताले टोली गठन गरेको र प्रतिवेदन तयार गरेको जनाएको छ। 

सतर्कताले गरेको निर्णयको प्रतिवेदन पत्रमा भनिएको छ,‘अनियमितता भएको छैन भन्न सकिने अवस्था नरहेको हुँदा छानबिन प्रतिवेदनको प्रतिलिपि आवश्यक कारवाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने तथा जिन्सी निरीक्षण प्रतिवेदनमा यस केन्द्रमा पठाउन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताललाई निर्देशन दिई फाइल तामेलीमा राखी उजुरीको लगत कट्टा गर्ने निर्णय गरियो।’

त्यसैगरी वीर अस्पतालको ‘डिपार्टमेन्ट अफ डेण्टल’ का प्रमुख डा. शैली प्रधानले पदीय दुरुपयोग गरेको भन्ने व्यहोराको उजुरीका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्न गठित टोलीबाट पेश भएको छानबिनको प्रतिवेदनउपर छलफल गर्दा उजुरीमा उल्लिखित आरोप पुष्टि हुने तथ्यगत आधार नपाइएकाले फाइल तामेलीमा राखी उजुरीको लगत कट्टा गर्ने निर्णय सतर्कता केन्द्रले गरेको छ। 
 

असार ३, २०८० आइतबार १९:०८:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।