अनुदान र कर छुट माग्दै नवलले घोषणा गरे ‘काँडेतार’को प्रदर्शन मिति
काठमाडौँ : नवल खड्काद्वारा निर्देशित तथा अभिनित फिल्म ‘काँडेतार’ को प्रदर्शन मिति तय भएको छ।
नवलले आइतबार फिल्मको एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन फागुन २५ गतेलाई तोकेका हुन्।
सार्वजनिक पोस्टरमा नवलले एक हातमा खुकुरी लिएर उभिएर कसैलाई हेरेको देखिन्छ। उनको ब्याकग्राउण्डमा काँडेतारको बार लगाएको देख्न सकिन्छ।
फिल्मका निर्माता,कलाकार तथा अभिनेतासमेत रहेका नवलले एक महिनाअघि सरकारले फिल्मको सेन्सर नगरिदिएको भन्दै रोइलो गरेका थिए।
अन्ततः फिल्म सेन्सर बोर्डले केही दृश्य र संवादमा काँटछाट गर्दै पास गरिदिएपछि निर्माण टिमले प्रदर्शन मिति तोकेको हो। फिल्मको प्रदर्शन मिति तोक्दै नवलले फिल्मलाई आर्थिक अनुदान, करमा छुट, स्वदेशमा एकल रिलिजको वातावरण बनाइदिन सरकारसामु माग गरेका छन्।
नेपाल र भारतको सीमामा काँडेतार लगाइनुपर्छ भन्ने विषय समेटिएको फिल्ममा नवलसँगै गौरव पहारी, रेविका गुरुङ, सुरबिना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीको अभिनय छ।
यस फिल्ममा नवलसँगै माकिको राई र अञ्जु केसी निर्माताका रुपमा रहेकी छन् भने कार्यकारी निर्माता गायिका सत्यकला राई रहेकी छन्।
श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्मका गीतमा कविराज गहतराजको नृत्य निर्देशन रहेको छ।
फिल्ममा मणि थापा र दीपक शर्माको संगीत सुन्न सकिन्छ भने सौरभ लामाको छायांकन, तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन छ।
असार ३, २०८० आइतबार १८:५९:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।