नेपालको शानदार ब्याटिङ, जिम्बाबेलाई २९१ रनको लक्ष्य

नेपालको शानदार ब्याटिङ, जिम्बाबेलाई २९१ रनको लक्ष्य

आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत खेलमा घरेलु टोली जिम्मेबाबेलाई नेपालले २९१ रनको लक्ष्य दिएको छ। 

हरारे स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पूरा ओभरमा ८ विकेटको क्षतिमा २९० रनको सम्मानजनक योगफल तयार गर्न सफल भयो। 

कुशल भुर्तेल र आशिफ शेखको ओपनिङ जोडीले नेपालको इनिङ उकासेका हुन्। 

पहिलो विकेटका लागि कुशल र आसिफ शेखले ३१.५ ओभरमा १ सय ७१ रनको सानदार शतकीय साझेदारी गरे। 

नेपालबाट ओडीआईमा कुनै पनि विकेटका लागि भएको यो उच्च साझेदारी हो।

कुशल ९५ बलमा ९९ रन बनाउँदै शतकबाट चुके भने आशिफले १०० बलमा ६६ रनको योगदान दिए। 

तेस्रो क्रममा आएका कुशल मल्लले ४१ रन बनाए भने कप्तान रोहित पौडेलले ३१ रन जोडे। त्यस्तै आरिफ शेखले १० रन मात्र बनाउँदा गुल्सन झा १३ रनमा आउट भए। दीपेन्द्रसिंह ऐरीले ६ तथा करन केसीले २ रन जोड्दा भीम सार्की र सोमपाल कामीले खाता खोल्न सकेनन्। 

९ ओभर बलिङ गरेका जिम्बाबेका रिचार्ज नगर्वाले १ मेडन राख्दै ४ विकेट लिए। 

वेलिंग्टन मसाकाड्जाले १० ओभरमा ४२ रन खर्चेर २ विकेट लिए। ब्लेसिङ मुर्जाबानी र टेन्डाई चताराले समान एक एक विकेट लिए। 

असार ३, २०८० आइतबार १६:२७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।