राष्ट्र बैंकले भन्यो, 'ऋण दिएबापत कमिशन असुल्ने प्रभु बैंकका डेपुटी सीईओमाथि उजुरी परे कारबाही हुन्छ'

राष्ट्र बैंकले भन्यो, 'ऋण दिएबापत कमिशन असुल्ने प्रभु बैंकका डेपुटी सीईओमाथि उजुरी परे कारबाही हुन्छ'

काठमाडौँः ग्राहकलाई ऋण उपलब्ध गराएबापत बिचौलियासँग मिलेर कमिशन असुलेको आरोप लागेका प्रभु बैंकका डेपुटी चिफ एक्जुकेटिभ अफिसर्स (सहायक कार्यकारी अधिकृत) मणिराम पोखरेलविरुद्ध उजुरी आए कारबाही हुने नेपाल राष्ट्र बैंकले जनाएको छ। 

बिचौलियासँग मिलेर ऋणीको ऋणको ५ प्रतिशत कमिशन लिने गरेको उनीमाथि आरोप लागेको थियो। यसबारे उकेराले केहीसमयअघि 'प्रभु बैंकका ऋण विभाग प्रमुख पोखरेलमाथि बिचौलियामार्फत ऋणीसँग कमिशन असुलेको आरोप' शीर्षकमा समाचार लेखेको थियो।  

तर राष्ट्र बैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलका अनुसार पोखरेलविरुद्ध अहिलेसम्म कुनै उजुरी आएको छैन।

उजुरी आएको खण्डमा कारबाही प्रक्रिया अघि बढाउन सहज हुने उनले उकेरालाई बताए।

‘अरूको नाममा चेक लिनुभएको हो भने हामीले अनुगमन गर्दा देखिने कुरा भएन। यदि उहाँले ऋण उपलब्ध गराउँदा कमिशन लिनुभएको हो भने उजुरी त आउनु पर्यो,’ उनले भने, ‘उजुरी नआई त हामीले यसै कारबाही  गर्न मिलेन।'

राष्ट्र बैंकका सहप्रवक्ता पोखरेलले प्रभु बैंकबाट पनि यसबारे आफूहरूलाई कुनै पत्र नआएको बताए। 

एक बचतकर्ताले जग्गा राखेर ५० लाख रुपैयाँ ऋण निकाल्ने प्रक्रिया स्वीकृत गराउन सहयोग गरेबापत प्रभु बैंकका डेपुटी सीईओ पोखरेलले बिचौलियामार्फत ५ प्रतिशत कमिशन लिएको आरोप लागेको थियो। 

असार ३, २०८० आइतबार १५:०९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।