चार दल मिलेर सोमबार समाजवादी मोर्चा घोषणा गर्ने, बाबुराम भट्टराई पनि सहभागी हुने सम्भावना

चार दल मिलेर सोमबार समाजवादी मोर्चा घोषणा गर्ने, बाबुराम भट्टराई पनि सहभागी हुने सम्भावना

काठमाडौँःसोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायत राजनीतिक दलले समाजवादी मोर्चा निर्माणमा सहमति जुटाएका हुन्।

सोमबार राष्ट्रियसभा गृहमा एक कार्यक्रम गरी समाजवादी मोर्चा घोषणा हुनेछ। बैठकमा सहभागी जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र श्रेष्ठका अनुसार आजको बैठकमा समाजवादी मोर्चा र त्यसको न्यूनतम कार्यक्रमबारे आवश्यक सहमति भएको हो।

समाजवादी मोर्चा बनाउने प्रयास धेरै पहिल्यैदेखि भए पनि औपचारिकता भने पाउन सकेको थिएन। माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले लगातार विभिन्न राजनीतिक दलसँग यसबारे संवाद गर्दै आएका थिए। 

आजको बैठकमा शीर्ष नेताहरूको उपस्थिति थियो। बैठकले मोर्चाको न्यूनतम कार्यक्रमसमेत तय गरेको र सोमबार नै सार्वजनिक गरिने बताइएको छ।

मोर्चामा डा. बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी नेपालसमेत सहभागी हुने बताइएको छ। यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अध्यक्ष भट्टराईबीचको भेटवार्तामा सो सहमति भइसकेको छ।

असार ३, २०८० आइतबार १३:५३:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।