पूर्वी पहाडी जिल्लामा राहत र उद्धारमा जुट्न योगेश भट्टराईको आग्रह

पूर्वी पहाडी जिल्लामा राहत र उद्धारमा जुट्न योगेश भट्टराईको आग्रह
फाइल तस्वीर

काठमाडौँः सांसद योगेश भट्टराईले तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायत पूर्वी पहाडमा गएराति अविरल वर्षाका कारण ठूलो धनजनको क्षतिलाई न्यूनीकरण गर्न राहत र उद्धारमा जुट्न सरकार र सरोकारवाला संघ संस्थालगायत सबैमा आह्वान गरेका छन्। 

संघीय संसद्, प्रतिनिधिसभाको आजको बैठकमा सांसद भट्टराईले उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासँग थप सक्रियताको अपेक्षा गरे। 

भट्टराईले भने, 'केही दिनदेखि आएको अविरल वर्षाका कारण पूर्वी पहाडका केही जिल्लामा गम्भीर क्षति भएको छ, ताप्लेजुङ, सङ्खुवासभा, तेह्रथुम, पाँचथर जस्ता जिल्लामा ठूलो जनधनको क्षति पुगेको छ, ताप्लेजुङ जिल्लामा सिदिङ्गा गाउँपालिका, सृजङ्गा गाउँपालिका, मैयाखोला गाउँपालिका र त्रिवेणी गाउँपालिकालगायत विभिन्न स्थानमा बाढीपहिराका कारण दर्जनौँ घर नष्ट भएका छन्।' 

ताप्लेजुङमा अहिलेसम्म पाँच जनाको अवस्था अज्ञात रहेको बताउँदै उनले अन्य मानिस पनि सुरक्षा गर्दै नजिकैको विद्यालय, सार्वजनिक स्थानमा आएर बस्नुपर्ने अवस्था आएको बताए। 

'सिदिङ्गा गाउँपालिकाको मेहेलेका एउटै परिवारका यादव बुढाथोकीको श्रीमती भगीमाया बुढाथोकी, सन्ध्या बुढाथोकी, प्रज्वल बुढाथोकी, बेपत्ता छन्, त्यसैगरी आङ्खोपमा थुप्रै घर क्षतिग्रस्त भएका छन, सुरुङखिममा पनि दर्जनौँ घरमा क्षति पुगेको छ, त्यसैगरी ताप्लेजुङको खेवाङमा थुप्रै घर नष्ट भएका छन्', उनले भने।

ताप्लेजुङका अन्य गाउँपालिकामा समेत ठूलो क्षति पुगेको उनको भनाइ छ। ताप्लेजुङका यातायात बन्द भएको र टेलिफोनका टावर विद्युत् गृहमा क्षति पुगेको, पाँचथरमा सडक पुल भत्किएको उनको भनाइ छ।

सांसद भट्टराईले भने, 'पूर्वी पहाडमा ठूलो मानवीय र भौतिक क्षति भएको छ। सरकारले घटनाको सम्पूर्ण जानकारी दिनुपर्छ। विपतसँग सम्बन्धित भएको हुनाले गृहमन्त्रीले सम्पूर्ण विपतको अवस्थाको जानकारी सदनमा गराउनुपर्छ।' 

उनले पुल र सडकको अवस्थाबारे भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले सदनमा जानकारी दिनु माग गरे।

भत्किएका सडकलाई तत्काल सञ्चालन गर्न, पीडितलाई आवास र खाद्यान्न सङ्कट भएकाले त्यसमा सरकारले व्यवस्था गर्नुपर्ने उनको भनाइ छ।

असार ३, २०८० आइतबार १३:१२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।