बुटवलको पशु वधशाला सञ्चालनका लागि टेण्डर आह्वान

बुटवलको पशु वधशाला सञ्चालनका लागि टेण्डर आह्वान

बुटवल : बुटवलको पशु वधशाला सञ्चालनका लागि टेण्डर आह्वान भएको छ। बुटवल-१० रामनगरमा निर्माण भएको वधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले आइतबार टेण्डर आह्वान गरेको हो। 

रामनगरमा दुई बिघा तीन कट्ठा क्षेत्रफलमा बनेको वधशाला सञ्चालनका लागि तीन वर्ष अघि सम्झौता भए पनि विधि र प्रक्रिया पूरा नभएपछि उपमहानगरपालिकाले पुन: टेण्डर आह्वान गरेको उपमहानगरका प्रवक्ता शिव रानाले बताए। 

आइतबार ३० दिनको समय राखेर टेण्डर आह्वान गरिएको र सबै प्रक्रिया पूरा भइ आगामी आर्थिक वर्षदेखि वधशाला सञ्चालन गर्ने उनले बताए।

बुटवललाई स्वस्थ मासु उत्पादन र बिक्री गर्ने शहरका रुपमा स्थापित गर्न पशु वधशाला सञ्चालन गरिने र यसले बुटवल बाहिरका शहरमा समेत मासु बिक्री गर्न सक्ने उपमहानगर प्रमुख खेलराज पाण्डेयले बताए।

उनका अनुसार वधशाला सञ्चालनका लागि बुटवल उपमहानगरपालिकाले नगर सभाबाट पशु वधशाला सञ्चालन र व्यवस्थापन विधेयक २०७९ पारित गरिसकेको छ। 

जसअनुसार पशु वधशाला सञ्चालन तथा व्यवस्थापन गर्ने, मापदण्ड पूरा गरी बध गर्ने, बिक्री केन्द्रसम्म ओसारपसार गर्दा मापदण्ड पूरा भएका साधनको मात्रै प्रयोग गर्ने, मासु बिक्री गर्न इजाजत पत्र लिनुपर्ने जस्ता व्यवस्था गरिएको छ।

झन्डै २२ करोड लगानीमा निर्माण भएको वधशाला क्षेत्रमा चरन क्षेत्र, होल्डिङ सेन्टर, पशु स्वास्थ्य जाँच तथा उपचार कक्ष, वधशालामा खटिनेहरूका लागि प्राथमिक उपचार कक्ष, सुरक्षा कक्ष, फोहोर प्रशोधन केन्द्र, हरियाली उद्यान र बगैंचा निर्माण भएको छ। 

यहाँबाट निस्किने फोहोर प्रशोधन गरेर बायोग्यास निकालिने छ भने पानीलाई पुनः प्रयोग गर्न मिल्ने गरी प्रशोधन गर्ने योजना उपमहानगरको छ। वधशालामा दैनिक एक हजार जनावर पशु गर्नसक्ने क्षमता रहेको छ।

असार ३, २०८० आइतबार ११:३२:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।